गाईघाट । त्रियुगा नगरपालिकाले बेरोजगार सूचीमा दर्ता हुन आवेदन प्रक्रियाबारे स्थानीयको घरमै पुगेर अभिमुखिकरण गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका वडा नं १४, १५ र १६ नम्बर वडाका गाउँघरमै पुगेर नगरपालिकाले अभिमुखीकरण गरेको हो ।
श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मुल नाराका साथ १८ वर्ष देखि ५९ बर्ष उमेरका लक्षित समूहका बेरोजगारहरुलाई घरदैलोमै गएर सेवा दिएको त्रियुगा नगरपालिका रोजगार सूचना केन्द्रले जनाएको छ ।
श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम अन्तर्गत ‘न्युनतम रोजगार, नागरिकको अधिकार’ सम्बन्धि आगामी आर्थिक बर्ष ०८१/८२ मा बेरोजगार व्यक्तिहरूलाई प्रदान गरिने न्युनतम रोजगारीको प्रक्रियाबारेमा स्थानीयलाई जानकारी गराईएको त्रियुगा नगरपालिकाका रोजगार संयोजक निसा घलेले जानकारी दिइन ।
‘महिला आदिवासी जनजाती दलित तथा अन्य सिमान्तकृत समुदाय र सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम संञ्चालन गरिएको छ ।’ रोजगार संयोजक घलेले भन्नु भयो ‘आब २०८१/८२ को लागि बेरोजगार व्यक्तिको सुचिमा दर्ता हुन आवेदन प्रक्रियाबारे घरदैलो कार्यक्रम गरिएको हो ।’
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत नेपाल सरकारले प्रत्येक वर्षको फागुन महिना भरी आवेदन र्फमको लागि स्थानीय सरकारलाई पत्राचार गर्ने र स्थानीय बेरोजगार युवा पुस्ताहरुले आफ्नो वडामा गई न्यूनतम रोजगारको फारम भर्ने व्यवस्था रहेको छ ।
पछिल्लो सयम सूचनाको पहुँच नपुगेका ठाउँहरुमा आफै पुगेर अति बिपन्न वर्ग साथै एकल महिलाहरुलाई बिशेष प्राथामिकतामा राखेर प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रक्रियाहरु, रोजगारको हकको बारेमा बुँदागतरुपमा बुझाउँदै आएको संजोजक घलेले बताइन ।
यसैबिच त्रियुगा नगरपालिकाको वडा न १६ को अति विकट धौरीमा र वडा नं. १५ को सोलथुम्कीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. १६ मा वडा अध्यक्ष श्री मान बहादुर राई र वडा नं. १५ मा वडा अध्यक्ष गणेश प्रसाद तिम्सिनाको अध्यक्षता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।