गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्रका स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । आईतबार त्रिनपाका उप–प्रमुख महेश्वरी राईको नेतृत्वमा गाईघाट बजारमा संचालनमा रहेका मेडिकल पसल र अस्पतालको अनुगमन गरिएको हो ।
अनुगमनमा धेरै जसो स्वास्थ्य संस्थाले स्वास्थ्य संस्था संचालन मापदण्ड विपरित र नगरपालिकामा दर्ता नै नगरी संञ्चालन गर्दै आएको पाईएको छ ।
नगरपालिकाले फार्मेसी, मेडिकल, क्लिनिक–पोलिक्लिनिक र आयुर्वेद गरी ११ वटा स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो । अनुगमनको क्रममा धेरै जसो स्वास्थ्य संस्थामा औषधी भण्डारण, फोहोर व्यवस्थापन र नविकरण तथा कागजी प्रकृयामा त्रुटि देखिएको उप–प्रमुख महेश्वरी राईले बताउनु भयो ।
त्रिनपाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक उपेन्द्र कार्कीका अनुसार अनिस आयुर्वेद पसल, शिवशक्ती मेडिकल, कटुवाल मेडिकल, रौता मेडिकल हल, रौता अस्पताल, मेडिकेयर पोलिक्लिनिक र अनिस आयुर्वेद पसलले नगरपालिका स्वास्थ्य शाखामा नविकरण नगरी संचालन गर्दै आएका छन ।
रौता मेडिकल, रौता अस्पताल र ओम मनकामना फर्माले नविकरण सँगै म्याद गुज्रेको औषधीको प्रयोग र व्यवस्थापनमा लापरवाही गरेको पाईएको स्वास्थ्य निरिक्षक कार्की बताउनु भयो ।
अनुगमनको क्रममा स्वास्थ्य संस्थाहरुलाई न्युनतम मापदण्ड पुरा गर्नका लागी निदेर्शन दिईएको छ भने नविकरणका लागी ७ दिनको म्याद दिईएको छ । यदी उक्त समयावधि भित्र नविकरण नगरेमा शिलबन्दी गर्ने चेतावनी समेत नगरपालिकाले दिएको छ ।
अनुगमनमा जिल्ला अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा. निर्मला चौधरी, त्रिनपाका प्रशासकीय अधिकृत घनश्याम पोखरेल, राजश्व शाखा प्रमुख रुपक तिमिल्सिना, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ना.सु. कुमार बहादुर राई सहित नगर प्रहरीहरु रहेका थिए ।