चितवन । चितवनको मुग्लिङ-नारायणगढ सडकखण्डमा गएको पहिरोले दुई वटा बस बगाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्धार कार्य सुरु गरेको छ ।
आज बिहान ३ बजे सो सडकखण्डको सिमताल भन्ने ठाउमा अविरल वर्षासँगै आएको पहिरोले दुई वटा बस बगाएको थियो । काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जल बस पहिरोमा परी त्रिशूलीमा खसेका हुन् ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २५ जना परिचालन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
शुक्रबार बिहान करिब साढे ३ बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालमा ठूलो पहिरो खसेको थियो । एउटा गाडीमा अन्दाजी २० जना र अर्कोमा ४० जना हुनसक्ने प्रहरीको अनुमान छ। यद्यपि यसबारे यकिन भने भइसकेको छैन।