उदयपुर । असार २५ गते आएको अविरल बर्षाका कारण बरुवा नदिमा आएको बाढीले भत्काएको बाँधलाई अस्थाई रुपमा निर्माण गरिएको छ। बाढीले बाँध भत्काएर कटान गर्दै गाईघाट बजार प्रवेश गर्न खोजे पछि त्रियुगा नगरपालिका सहित नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीको सहयोगमा अस्थाई बाँध निर्माण गरिएको हो।
बरुवा नदीले बाँध भत्काएर कटान गर्दा उदयपुरको सदरमुकाम गाईघाट बजार उच्च जोखिममा परेको थियो । कटान गरेको स्थानमा बाँध निर्माण र नदिको बहावलाई अर्का तर्फ मोड्न डोजरको सहायताले ढुंगा बालुवाको दोस्रो अस्थाई बाँध निर्माण गरि तत्कालका लागि जोखिम कम गरिएको त्रियुगा नगरपालिका नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।
तत्काललाई अस्थाई बाँध निर्माण गरि जोखिम कम गरेको भएता पनि उक्त स्थानमा दिर्घकालिन बाँध निर्माण गर्न संघीय र प्रदेश सरकारसँग पहल गरि सदाका लागि समस्या समाधान गर्न सवैले लागि पर्नु पर्ने प्रमुख बस्नेतले बताउनु भयो।
नदिले कटान गरि बजार क्षेत्र प्रवेश गरेमा गाईघाट बजार क्षेत्रका २० हजार बढी घर परिवारका एक लाख बढी मानिस प्रभावित हुने खतरा थियो । उक्त क्षेत्रमा कटान गरी नदि बजार क्षेत्र प्रवेश गरेमा सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका वडा नं ११, १२ र १३ का अधिकांश घर डुवानमा पर्नुका साथै नदिले बगाउने निश्चित छ ।