गाईघाट । बाढी प्रभावितको अवस्था बुझ्न त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई सहित बाढी प्रभावित क्षेत्र पुग्नु भएको छ ।
निरन्तर तीन दिनदेखि परेको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले पुर्याएको भौतिक संरचनाको क्षती तथा त्रियुगा १४ को बाढीबाट पीडित भएकाहरूको अवस्था बुझ्नका लागि मेयर बस्नेत सहित मन्त्री राई आइतबार धाप्लाङघाट पुग्नु भएको हो ।
मेयर बस्नेतले त्रियुगा नगरपालिका १४ सिम्ले घिर्लिङ, धाप्लाङ्गघाटका कोशी प्रभावित स्थानीय सँग भेट गरी क्षतिको अवस्थाको विवरण बुझ्नुका साथै राहत र पुर्नस्थापना बारेमा जानकारी लिनु भएको हो ।
मेयर बस्नेतले कोशीले घर बगाएका दुई परिबारलाई तत्काल राहातको व्यवस्थापन गराउन वडा अध्यक्षलाई निर्देशन दिनु भएको थियो । मन्त्री राई सहित खोटाङको बराहपोखरी गाउँपालिका खोटाङका अध्यक्ष शालिकराम बन्जरा लगायत प्राविधिक टोलि पनि धाप्लाङघाट पुग्नु भएको थियो ।
स्थलगत अनुगमनका लागि गएका मन्त्री राईले धाप्लाङघाटस्थित सुनकोसी नदीमाथिको निर्माणाधीन मोटरेबल पुल, सोही ठाँउमा रहेको झोलुङ्गे पुल र वंसिलाघाटको झोलुङ्गे पुलमा बाढीले पुर्याएको क्षती तथा त्यस क्षेत्रमा रहेका बाढी पीडितको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको मन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिनु भयो ।