उदयपुर — त्रियुगा नगरपालिकाको आर्थिक सहयोग, नगर शिक्षा शाखाको समन्वय र नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस्रो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगिता आज बुधबारबाट सुरु हुने भएको छ । त्रियुगा नगरपालिका वडा नं ५ स्थित जनता माबी देउरीको खेलकुद ग्राउन्डमा प्रतियोगिता शुरु हुने भएको हो ।
नगर क्षेत्रका संस्थागत र सामुदायिक गरि ४२ विद्यालय सहभागी रहने प्रतियोगितामा भलिबल (महिला-पुरुष), कबड्डी (महिला-पुरुष), एथलेटिक्स, तेक्वान्दो र कराते गरी ५ विधाका खेलहरू समावेश गरिएका छन्।
नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष विजय सिंहका अनुसार, प्रतियोगिताले विद्यार्थीहरूलाई शारीरिक, मानसिक र सामाजिक रूपमा सबल बनाउँदै उनीहरूमा आत्मविश्वास, अनुशासन र सहकार्यको भावना विकास गर्ने लक्ष्य लिएको छ।
विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन हप्ताको अन्तिम दिन ‘बुक फ्री डे’ लागू संगै मेयर रनिङ शिल्ड प्रतियोगिता वार्षिक रुपमा आयोजना गरेर विद्यार्थीहरुमा खेलकुदले आत्मनिर्भरता, स्वावलम्बन र अनुशासनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सहभागी टोलीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। उनले नगरपालिकाको शैक्षिक गुणस्तर उकास्न खेलकुद प्रतियोगिता महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे।
प्रतियोगिता सफल बनाउन सम्पूर्ण सरोकार निकाय, विद्यालय, अभिभावक र विद्यार्थीहरूको सक्रिय सहयोग आवश्यक रहेको नगर प्रमुख बस्नेतले जोड दिए।
नगरपालिकाले बर्षेनी आयोजना गर्ने मेयर रनिङ शिल्डमा खेलकुद बाहेक सांस्कृतिक र अन्य कार्यक्रम भने फरक मितिमा राख्ने गरेको छ । सांस्कृतिक र अन्य कार्यक्रम फरक मितिमा राखेता पनि सम्पन्न भैसकेका कारण ती कार्यक्रमको समेत अंक जोडेर प्रतियोगिताको बिजयी चुनिने गरिन्छ ।