उदयपुर । नेपाली सेनाले ऐतिहासिक उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको एक हप्ते पदयात्राको आज समापन गरेको छ । ऐतिहासिक गढी, किल्लाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले उदयपुरको बोक्सेस्थित पशुपति प्रसाद गण पिपलटार व्यारेकको आयोजनामा गरिएको पदयात्राको आज चौदण्डीगढीमा पुगेर समापन गरिएको हो ।
पुस २१ देखि शुरु भएको पदयात्रामा उदयपुरगढी, रौतामाई, त्रियुगा र चौदण्डीगढी गरी चार पालिकाको ९१ किलोमिटर महाभारत पदयात्रा गरि पुस २७ गते अर्थात पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसर पारेर नेपाली सेनाले पदयात्राको समापन गरेको हो।
उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानवहादुर केप्छाकी मगर र नेपाली सेना १८ नम्बर बाहिनीपति सहायक रथी गौरव गुरुङले पदयात्रामा संलग्न टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेर पद यात्रा शुरु गरिएको थियो भने आज चौदण्डीगढीमा समापन कार्यक्रमका प्रमुख अतिथि त्रियुगा नगरपालिकाका प्रम्मुख बसन्त बस्नेतले राष्ट्रिय झण्डालाई झन्डोत्तलन गर्दै पृथ्बी नारायण शाहको तस्विरमा माल्यार्पण गरि समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त वस्नेतले गढी र किल्लाहरु भनेको ढुङ्गा माटो र इटाका थुप्रोहरु नभएर हाम्रा पुर्खाहरुले राष्ट्रिय स्वाधिनता बचाउनका लागि गर्नुभएको त्याग र बलिदानको निशानी रहेको बताउनुभयो । राष्ट्र निर्माता पृथ्विनारायण शाहले आधुनिक नेपाल निर्माणका लागि गर्नुभएको संघर्षलाई भुल्न नहुने र नेपाली सेनाले त्यतिवेलाको गोरेटो पहिल्याउने कामको थालनि गरेकोले आगामि वर्षहरुमा समेत यस कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले ऐतिहासिक महत्वपूर्ण गढीको संरक्षण र सम्वर्धनका लागि जनचेतना जगाउने, पुर्खाहरुको गौरव गाथालाई खोज अनुसन्धान गरी प्राप्त उपलव्धिहरुलाई भावि पुस्ताका लागि लिपिबध्द गर्ने उदेश्यले राष्ट्रिय एकता दिवशको अवसर पारेर नेपाली सेनाले गरेको कामको प्रसंसा गर्नु भयो । उहाँले पृथ्वीनारायण शाहलाई शाह बंशिय राजाको रुपमा नभएर नेपाल एकीकरणका नायक देशनै रहने नरहने अवस्थामा आजको नेपाल राष्ट्रको निर्माता भनेर सम्झिन पर्ने उल्लेख गर्नु भयो ।
ऐतिहासिक स्थानहरुको संरक्षण र प्रवर्धन गर्दै आएको विभिन्न कार्यक्रम गर्दै आएको जिल्ला साइकल संघले साइक्लिङ्ग गर्दै पदयात्रामा सहयोग गरेको थियो भने पर्यटन प्रवर्धनका लागि होटल तथा पर्यटन ब्यवसायी संघ, नेपाल पत्रकार महासंघ र फ्लाई वन्डर्स प्रालीले प्याराग्लाइडिङ्ग मार्फत पदयात्रीहरुलाई मनोरन्जन गराउनुका साथै फुल बर्साएर स्वागत गरेका थिए ।
पदयात्राकै क्रममा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, बक्तृत्वकला, निबन्ध लेखन र कविता वाचन प्रतियोगितामा प्रथम दितीय र तृतीय हुने विभिन्न छात्र छात्रालाई नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।