उदयपुर । त्रियुगा नगरपालिकाको वडा नं ८ स्थित खाट मन्दिरमा दुईदिने बृहत निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरिएको छ । सामाजिक संस्था उदयपुर जेसिजले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरलाई त्रियुगा नगरपालिका वडा नं ८ ले सहकार्य गरेको थियो ।
सदरमुकाम देखि करिब १० किलोमिटर टाढा पर्ने खाट मन्दिर बिद्यालयमा संचालन भएको नि:शुल्क स्वास्थ्य शिविरमा खाटमन्दिर वरपरका गाउँका स्थानीयलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले शिविरको आयोजना गरिएको जेसिजका अध्यक्ष पवन राउतले जानकारी दिए ।
प्राविधिक सहयोग गरेको लाइफ गार्ड हस्पिटल प्राली बिराटनगरले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, नवजात तथा बालरोग, पिसाव तथा मुत्ररोग, हाडजोर्नी, चर्म तथा यौनरोग, नाक कान घाँटी लगायतका विषयहरुमा १० जना भन्दा बढी विशेषज्ञ चिकित्सक सहित शिविर सञ्चालन गरिएको हो ।
त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गरेको दुईदिन (शुक्रबार र शनिबार) सम्म चल्ने नि:शुल्क स्वास्थ्य शिविरमा त्रियुगा मेडिकल हलले शिविरमा लाग्ने औषधि निशुल्क उपलब्ध गराएको मेडिकल हलका संचालक ब्रह्मदेव महतोले जानकारी दिए । महतो उदयपुर जेसिज बर्ष २०२४ को महासचिव हुन ।