

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाले महिलाहरुलाई नौमती पञ्चेबाजाको तालिम दिएको छ । नगरपालिकाको वडा नं ११ स्थित संगमटोलमा पालिकाका ३० महिलालाई एक महिने पञ्चेबाजा बजाउने तालिम दिएको हो ।
झिगु नेवा पुचः उदयपुरको आयोजना र त्रियुगा नगरपालिकाको आर्थिक सहयोगमा गत पुष २७ गतेबाट संचालित पञ्चेबाजा तालिममा त्रियुगा नगरपालिका भित्रका ३० जना गरिब तथा विपन्न परिवारका महिलाहरु सहभागी रहेका थिए ।
एक महिना संचालित पञ्चेबाजा तालिमको बिहिबार एक कार्यक्रमका बीच त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले समापन गर्नु भयो । तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
पञ्चेबाजा तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले समाजबाट लोप हुँदै गएको परम्परा संस्कृति र संस्कारलाई जोगाउन एवम् भावी पुस्तालाई परम्परागत संस्कृतिको बारेमा जानकारी दिनुका साथै गरिब तथा विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन यो तालिमले सहयोग पुग्ने बताउनु भयो ।
“नौमती पञ्चेबाजाको संरक्षण र संवद्र्धनसँगै लोप हुँदै गएको हाम्रो परम्परागत संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो”, मेयर बस्नेतले भन्नुभयो, “यसबाट एकातर्फ महिलामा सीप विकास हुँदै जानेछभने अर्कोतर्फ हाम्रो संस्कृतिको पनि जगेर्ना हुनेछ भन्ने विश्वास रहेको छ ।”
कार्यक्रममा उपप्रमुख महेश्वरी राईले महिला दिदी बहिनीहरुको नेतृत्व विकास तथा सामाजिक काममा अग्रसरता बढाएर आत्म निर्भर बनाउन र लोपोन्मुख संस्कार संस्कृति जगेर्नाका लागि पनि यो पञ्चेबाजा तालिमले महत्वपूर्ण मद्दत गर्ने बताउनु भयो ।