

गाईघाट । त्रियुगा नगरपालिकाले सुरु गरेको “मेयर संग जेष्ठ नागरिक स्वास्थ प्रबर्द्धन” कार्यक्रम बुधबार तेस्रो दिन वडा नं ३ मोतिगडामा सम्पन्न भएको छ । सोमबार वडा नं १ जोगीदहबाट सुरु भएको कार्यक्रम तेस्रो दिन वडा नं ३ मोतिगडामा गरिएको हो ।
ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि अहिले घरका सदस्यले वेवास्ता गर्ने समयमा स्वास्थ्य संस्था नपुर्याई दिने हुँदा नसर्ने किसिमका रोगहरु, पहिचान हुन नसकेका रोगहरु बोकेर बस्न पर्ने समस्याको समाधानका लागि नगरपालिकाले यो कार्यक्रमको आयोजना गरेको नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।
सामान्य स्वास्थ्य चेकजाँच गर्न स्वास्थ्य संस्था जाँदा लाइन बस्न पर्ने पालो पर्खन पर्ने गर्दा ज्येष्ठ नागरिकलाई झन्झट हुने हुँदा सोही चेकजाँच घरघरमा गएर गर्ने उदेश्य सहित यो “मेयर संग जेष्ठ नागरिक स्वास्थ प्रबर्द्धन” कार्यक्रमको आयोजना गरिएको प्रमुख बस्नेतले बताउनु भयो ।
मानिस स्वस्थ रहे मात्र अन्य बिकास पूर्वाधारका काम गर्न र उपभोग गर्न सकिने हुँदा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको भन्दै उहाँले नगरपालिका नगरवासीको निशुल्क उपचारका लागि नगर अस्पताल संचालन गरेको, नगरवासीका आँखाको निशुल्क परिक्षण तथा मोतियाबिन्दुको निशुल्क अप्रेसन, नगरवासीलाई निशुल्क रगत उपलब्ध गराउने जस्ता काममा नगरपालिकाले थालनी गरेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।
ज्येष्ठ नागरिकको सम्मान र स्वास्थ्य उपचारलाई ध्यानमा राखेर नगर प्रमुखले ल्याएको यो कार्यक्रमलाई अव वडाले आउँदा दिनमा नगरपालिकाका स्वास्थ्यकर्मीको साथमा घरघरमा पुर्याउने र समस्या देखिएका बिरामीलाई बेलैमा नगर वा जिल्ला अस्पताल पुर्याउन सहयोग गर्ने वडा अध्यक्ष तिलक कटुवालले बताउनु भयो । बिकास र पूर्वाधारका काम समय सँगै आवश्यकताका आधारमा पुरा हुँदै जाने तर स्वास्थ्य भने हरेक क्षेण हरेक समय नभई नहुने भएकाले नगर प्रमुखले ल्याएको यो कार्यक्रमलाई घरघर सम्म पुर्याउने काम अव आफुले वडाले गर्ने उहाँले बताउनु भयो ।
यस्तै अग्रज समाजसेवी तथा ज्येष्ठ नागरिक राममणी पोखरेलले ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका लागि नगरपालिकाले ल्याएको यो योजना अहिले सम्मकै उत्कृष्ट काम मध्यको एक भएको बताउनु भयो । ज्येष्ठ नागरिक राष्ट्रका सम्पत्ति तथा अनुभवका खानी भन्ने तर हेला गर्ने प्रवृत्तिको अन्त्य गर्दै नगरपालिकाले घरघरमा गएर ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच तथा नि:शुल्क औषधी वितरण गर्ने कार्यक्रमको आयोजना गर्नु भनेको उत्कृष्ट काम रहेको यो कामलाई जिल्लाका सवै पालिकाले अनुसरण गर्न पर्ने पोखरेलले बताउनु भयो ।
कार्यक्रम अन्तर्गत नगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिने छ। नगरभित्रका सामाजिक सुरक्षा लिने ९ हजार बढी नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, क्षय रोग, सुगर, अक्सिजन लेभल, मुटु सम्बन्धि चेक जाँच, मृगौला सम्बन्धि चेकजाँच लगायतका सेवाहरु प्रदान गरिने शाखाका स्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताउनु भयो ।
स्वास्थ्य शिविर कार्यक्रममा समस्या देखिएका बिरामीको थप उपचार नगर अस्पताल देउरी र जोगीदहको प्राथमिक स्वास्थ्य चौकीमा थप उपचार गरि जिल्ला अस्पताल पठाइने गरि योजना बनाइएको छ। स्वास्थ्य चेकजाँच गर्दा देखिएका आवश्यक औषधी नगरपालिकाले नि:शुल्क दिनेछ ।