

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाकाले पालिकाको सर्वाङ्गिण विकासका लागि दीर्घकालीन रणनीतिक बिकास योजना “त्रियुगा विकास” गुरुयोजना बनाएको छ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागिएको हो ।
राजधानी काठमाडौंमा संघीय जनप्रतिनिधि, बिज्ञसमुह र सरोकार वालाहरु सँगको अन्तरक्रिया कार्यक्रमले त्रियुगा नगरपालिकालाई समृद्ध बनाउन सवैले सवै पक्षबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
“स्वास्थ्य शिक्षित उद्यमशिल हाम्रो शहर, समुन्नत समाबेशी समृद्ध त्रियुगा नगर” भन्ने नारा सहितको गुरु योजनाले नगरपालिकाको स्वास्थ्य, शिक्षा, पशुपालन तथा कृषि, पर्यटन, आयमुलक सिप तालिम, र रोजगारी सिर्जना लगायतका बिषयमा अध्ययन गरेर त्रियुगाको विशेषता वमोजिम कार्ययोजना बनाउने छ ।
नगरपालिका भित्रको बढ्दो शहरीकरणलाई व्यवस्थित बनाउने, नगरपालिकाको विकास निर्माणको कामलाई अगाडि बढाउने, सम्पुर्ण नागरिकलाई स्वास्थ्य र शिक्षाको पहुँचमा पुर्याउने, त्रियुगा उपत्यकाको उर्वर खेतीयोग्य जमिनलाई सदुपयोग गरि कसरी कृषिमा आत्मनिर्भर बन्ने, पर्यटन प्रवर्द्धनका लागि गर्नु पर्ने आधार, उद्यशील र रोजगारी जस्ता बिषयमा कार्ययोजना बनाएर काम गर्ने गुरुयोजनाको लक्ष्य छ ।
अहिले सम्म जहाँ मन लागो त्यहीँ भद्रगोल तरिकाले बजेट बनाउने र जनताले महसुस गर्ने गरिको काम नभएकाले नगरपालिकाको सम्पुर्ण भुगोल समेटेर बनाइएको गुरुयोजना अनुसार योजना बनाउने र त्यसै अनुरुप काम गर्ने नगरपालिका नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । गुरुयोजनामा वडा तथा पालिकाबाट सञ्चालन हुने आयोजनालाई आवश्यकता तथा औचित्यका आधारमा बर्गिकरण गरिने त्यसै अनुसार अवाधिक योजना बनाएर काम गरिने बस्नेतको धारणा छ ।
“तिन वटा वडा पहाडमा छन, त्यहाँ कति के आवश्यक छ त्यहि अनुसार र बाँकी १३ वटा वडामा कहि शहर बजार छ कहि खेतीयोग्य जमिन ति सवैलाई समेटेर गुरुयोजना बन्नेछ,” मेयर बस्नेतले भन्नु भयो, “बाहिरका बिज्ञ हायर गरेका छौ र यहाँका सवै पक्षलाई त्यो गुरु योजना बनाउने बिषयमा समेटेका छौ ।”
प्रमुख बस्नेतका अनुसार “अब बन्ने गुरुयोजना बमोजिम नगरपालिका, जनप्रतिनिधि र कर्मचारी चल्नेछन र कसैले केहि भनेर वा दवाब दिएर केही हुदैन भद्रगोल अवस्थामा रहेको नगरपालिकालाई थितिमा ल्याउने प्रयास हुदैछ ।”
गुरुयोजना बिना काम गर्दा गरेको काम पनि नदेखिएको, काम गर्ने शिलशिलामा प्राथमिकता बाहिर गएर काम हुने गरेका कारण नगरपालिकाको समग्र विकासलाई ध्यानमा राखेर गुरुयोजना बनाएर काम गर्न लागिएको नगर उपप्रमुख महेश्वरी राईले बताउनु भयो ।
विना गुरुयोजनाको कामबाट अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने भएकोले विकासका कामलाई जनमूखी र प्रभावकारी बनाउन गुरुयोजना बनाएर काम गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोईरालाले जानकारी दिनु भयो ।