

उदयपुर : त्रियुगा नगरपालिकाले सार्वजनिक सुनुवाइ तथा दोस्रो चौमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका र नगरअन्तर्गत रहेका शाखाहरुले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकमा प्रवाह गरेका सार्वजनिक सेवा र प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाइ गर्नुका साथै शाखा प्रमुखहरुले शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
त्रियुगा नगरपालिकाको आयोजना तथा सुशासनका हिमायती (जि.क्यु) को सहजिकरणमा नगरपालिकाको सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही, नागरिक, राजनीतिक दल, विषयगत शाखाहरुका प्रमुख एवम प्रतिनिधिहरुले गुनासा तथा टिप्पणी र सुझावहरु राखेका थिए ।
नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन गर्दै नगरप्रमुख वसन्त बस्नेतले राज्यको नीति र पद्धती नै व्यवहारिक नहुँदा कतिपय काममा कठिनाइ भएको भएपनि नगरपालिका समृद्धिको बाटोतर्फ उन्मुख हुँदै गएको दाबी गर्नु भयो । सभामा उठेका सुझावलाई मध्यनजर गर्न तयार रहेको बताउदै नगर प्रमुख बस्नेतले हरेक सकारात्कम सुझाबको नगरपालिकाले अपेक्षा गरिरहने बताउनु भयो ।
नगर प्रमुख बस्नेतले नगरपालिकाको प्रशासकीय भवन निर्माणको कामअन्तिम चरणमा पुगेको , शिक्षामा स्थानीय पाठ्यक्रम लागू गरि बिद्यालयको दरवन्दी मिलान गरि शिक्षामा गुणस्तर बढाउने काम, स्वास्थ्यमा आफ्नै नगर अस्पताल संचालन, नगरबासीलाई निशुल्क रगत उपलब्ध, निशुल्क आँखाको चेक जाँच तथा शल्यक्रिया, “मेयर संग जेष्ठ नागरिक स्वास्थ प्रबर्द्धन” कार्यक्रम मार्फत नगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरि निशुल्क औषधी वितरण गर्दै आइएको र पूर्वाधार तर्फ बिश्वबैंकको लगानीमा बन्ने सडकको काम अन्तिम चरणमा पुग्दै आएको र हाल सम्म नगरपालिका भित्र २५ किलोमिटर सडक कालो पत्रेको काम गरि सकेको बताउनु भयो ।
समिक्षा कार्यक्रममा नगरपालिकाले चालु आर्थिक बर्षमा कुल बजेटको चालु तर्फ ५९ . ८४ प्रतिशत खर्च गरि सकेको र पूँजीगत तर्फ ३० . ८९ प्रतिशत खर्च गरेको आर्थिक प्रशासन शाखा प्रमुख विनया बस्नेतले जानकारी दिनु भयो । चालु आर्थिक बर्षको दोस्रो चौमासिक अर्थात फागुन मसान्त सम्ममा नगरपालिकाले आन्तरिक स्रोतबाट ४ करोड बढी संकलन गरेको राजश्व शाखा प्रमुख बिष्णु खत्रीले जानकारी दिनु भयो। शाखा प्रमुख खत्रीका अनुसार नगरपालिकाले बजेट बनाउदा अनुमानित गरेर बनाएको बजेट अनुसार आन्तरिक आय तर्फको प्रगति सन्तोष जनक रहेको र नगरपालिकाले अनुमान गरे बमोजिमको रकम संकलन हुनेमा विश्वस्त रहेको जानकारी दिनु भयो ।
नगरपालिकाको भौगोलिक विकटताले विकासमा उल्लेखनिय प्रगति हुन नसकेको भएता पनि समृद्ध नगरपालिका बनाउन आफुहरु दिन रात नभनी जनताको सेवा खटिरहेको नगर उपप्रमुख महेश्वरी राईले बताउनु भयो।
नगरपालिकाको आन्तरिक आय बढाउन आफ्नो ध्यान रहेको बताउदै प्रमुख प्रशासकीय अधिकृत कुमार कोईरालाले जनताका अपेक्षा पुरा गर्न बजेट चाहिन्छ, त्यो आन्तरिक आय नबढाई सम्भव हुदैन, त्यसैले नगरपालिकाका सम्पूर्ण सेवाग्राहीलाई करको दायरामा ल्याउन आफ्नो कोसिस रहेको बताउनु भयो ।