नेपालमा कोरोनाको इपिसेन्टर बनेको उदयपुरको भुल्केका संक्रमित परिवारका सदस्यहरुलाई सोमबारबाट क्वारेन्टाइनमा पठाइएको छ ।
भुल्केका चार संक्रमित परिवारका १४ जनालाई आज मोतिगडा क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा पठाइएको हो । सोमबार दिउसो एम्बुलेन्स मार्फत उनीहरुलाई क्वारेन्टाइन स्थल पुर्याइएको थियो ।
घर हेरचाहका लागि एकजना भने घरमै होम क्वारेन्टाइनमा राखिएको छ । संक्रमण भेटिएको स्थान भुल्केका बासिन्दाको स्वाव पुनः परिक्षण गर्दा थप चारजना संक्रमण पाइएपछि उनीहरुका परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
परिवारका सदस्यहरु र उनीहरुबाट अरुमा संक्रमण फलिन नपाओस् भन्ने हेतुले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको त्रियुगा नगरपालिकाका ३ क वडा अध्यक्ष अवधेश चौधरीले बताए ।
मोतिगडा क्वारेन्टाइनमा विराटनगर कोरोना हस्पिटलमा उपचारपछि कोरोना निको भई फर्केका पाँचजना पनि रहेका छन् । उनीहरु १४ दिन बसेपछि स्वाव परिक्षण गरिने र रिपोर्ट नेगेटिभ आएमा घर पठाइने बताइएको छ ।
हाल भुल्केमा संक्रमितको संख्या ३२ पुगेको छ । जसमध्ये १४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।