काठमाडौं । मुलुकका विभिन्न स्थानमा भएका सवारीसाधन दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । बाँके, राप्ती-सोनारी गाउँपालिका १ मा ना.७त ५१८ नम्बरको ट्याक्टर अनियन्त्रित भई राप्ती नदीमा खस्दा ट्याक्टरमा सवार १९ वर्षीय चूर्णबहादुर थारुको मृत्यु भएको हो । ट्याक्टर फेला परे पनि नदीमा बेपत्ता भएका ट्याक्टर चालकको भने प्रहरीले खोजी गरिरहेको छ ।
जुम्ला, पातारासी गाउँपालिका ६, कोठाभिरस्थित सडकमा भे.१त ७३३२ नम्बरको ट्याक्टर सडकबाट ५० मिटर तल खस्दा सोही गाउँपालिका ४ का ४८ वर्षीय जयबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना घाइते भएका दुईजनालाई उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
डोटी, बडिकेदार गाउँपालिका ३, सुनालेकस्थित बीपीनगर घांगल सडकमा से.१ख १२६२ नम्बरको मिनीट्रक दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका–३ बस्ने ४० वर्षीय डबल पुनमगर र १४ वर्षीय धीरज पुनमगरको घटनास्थलमै मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, बेलबारी नगरपालिका १, लोहन्द्रा पुलस्थित सडकमा को.१क ३२५० नम्बरको टिपरले को.३२प ६६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका ७ का ४९ वर्षीय अशोकलाल चौधरीको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते भएका उनको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सिरहा, नरहा गाउँपालिका ३ स्थित सडकमा स.१त ४०२८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने सहचालक २० वर्षीय दुर्गेश यादवको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते भएका उनलाई भूमिजा अस्पताल हुँदै विराट नर्सिंङ होम विराटनगर लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टर चालक २० वर्षीय जितबहादुर यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।