काठमाडौं । संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले जंगली जनावरको ज्यान लिने वा उनीहरुलाई उत्पीडनमा पार्ने काम मानिसले गरिरहे कोरोना भाइरस संक्रमणभन्दा पनि झनै खतरनाक महामारीको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । खतरनाक महामारीबाट जोगिन जीवजन्तुलाई नमार्न र प्राकृतिक स्रोतसाधनको दोहन नगर्न विशेषज्ञहरुले सुझाव दिएका छन् ।
पर्यावरणसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको इन्भाएरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्युटका विशेषज्ञहरुले सो सुझाव दिएका हन् ।
इन्सटिच्युटको रिपोर्टमा लेखिएअनुसार कोरोना भाइरस जस्ता महामारी आउनुमा पर्यावरणमा क्षति, प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन, जलवायु परिवर्तन र जंगली जनावरको उत्पीडन मुख्य कारण छन् ।
संयुक्त राष्ट्रसंघको विशेषज्ञहरुका अनुसार केही वर्षयता जनावर र पक्षीबाट मानिसमा सर्ने बिरामी लगातार बढ्दै गएको छ । विज्ञानको भाषामा यस्ता विरामीलाई ‘जुनोटिक डिजिज’ भनिन्छ ।
यदि मानिसहरुले पर्यावरण र जंगली जीवजन्तुलाई बचाएनन् भने यस्तै अन्य महामारीको सामना गर्नुपर्ने पर्यावरण र स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघको रिपोर्टका अनुसार प्रोटिनको बढ्दो मागका कारण मानिसले जनावरहरुको ज्यान लिइरहेका छन् र आखिरमा यसको असर स्वयं मानिसले नै भोग्नु परिरहेको छ ।
विशेषज्ञहरुका अनुसार जनावरबाट हुने अलग–अलग विरामीको कारण विश्वभर करिब २० लाख मानिसको ज्यान जान्छ । पछिल्लो केही वर्षयता मानिसमा जनावरबाट सर्ने रोग अर्थात् जुनोटिक डिजिज बढेको छ । इबोला, बर्ड फ्लु, सार्स जस्ता रोग यसै श्रेणीमा पर्दछन् । पशुपक्षीमा मात्र हुने यी रोगको शिकार अहिले मानिस भइरहेको छ ।
संयुक्त राष्ट्रसंघको रिपोर्टमा लेखिएको जुनोटिक डिजिज बढ्नुको एक प्रमुख कारण स्वयं मानिस र उसको कर्म हो ।
संयुक्त राष्ट्रसंघको इन्भाएरोमेन्ट प्रोग्रामका कार्यकारी प्रमुख इंगर एन्डर्सनले भनेकी छन्, ‘हरेक वर्ष कम्तिमा २० लाख मानिसको मृत्यु ग्रन्थीसम्बन्धी रोग, चौपायाबाट हुने टिबी र रेबिज जस्ता जुनोटिक रोगका कारण भइरहेको छ । त्यतिमात्रै होइन, यी बिरामीबाट आर्थिक क्षति पनि हुने गरेको छ ।’