उदयपुर । जिल्ला मातपोत कार्यालय उदयपुरका एक कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । केहि दिन अघि चार कर्मचारीको कोरोना परिक्षण गरिएकोमा मालपोतका ती कर्मचारीमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य प्रमुख सुवेदीले बजानकारी दिए ।
३४ वर्षे कर्मचारीलाई संक्रमण भएसँगै उदयपुरमा संक्रमितको संख्या जम्मा ८८ जना पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमु्ख मोहन सुवेदीका अनुसार जिल्लामा हालसम्म २२ जना महिला र ६६ जना पुरुषमा संक्रमण भएको छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार मालपोत कार्यालयबाट उपलब्ध हुने सेवा बन्द गरिएको छ । अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले जानकारी दिए ।
कोरोना संक्रमण बढेसँगै जिल्लामा मास्क नलगाई हिड्नेलाई कारबाही गर्न थालिएकोे जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताए । यसअघि भारत र अन्य देशबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिन थालेको छ । उदयपुरमा कोरोना समुदाय स्तरमा पुगेको सरोेकारवालाको दाबी छ ।