काठमाडौँ । असोज ३, नयाँ संविधान जारी भएको विशेष दिन । संविधान दिवस, गणतन्त्र दिवस र दशैं–तिहारमा ५० प्रतिशत कैद भुक्तान गरेका २८९ कैदीले राष्ट्रपतिबाट आम माफी पाए ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ का रामलखन जैसवाल साढे ६ वर्षयता केन्द्रीय कारागारमा थिए । ज्यान मुद्दामा जेल परेका जैसवाललाई करिब डेढ वर्ष भैरहवा कारगारमा राखेर जेल प्रशासनले केन्द्रीय कारागारमा सरुवा गरेको थियो ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीलाई माफी दिएको निर्णय ६३ वर्षीय जैसवालले सायद थाहा पाएनन् । आफुसँगै बसेका कैदीलाई केन्द्रीय कारागार सुन्धाराको बारभित्रबाट बिदाइको हात हल्लाउन नपाउँदै उनको प्राण गएको छ ।
ठूलो संख्यामा कैदीबन्दीलाई आममाफी दिने निर्णय भएको दिन जैसवालको मृत्यु भयो । परिवारले उनको मृत्युलाई ‘स्वभाविक’ मानेका छैनन् । रामलखनका भतिजा शिवम जैसवालले रातोपाटीसँग भने– ‘मृत्यु हैन, मेरो ठुलोबुबाको हत्या नै भएको हो ।’
मुलुकी ऐन–२०२० अनुसार उनी असोज २२ मा जेलमुक्त हुन पाउँथे । तर, मुलुकी अपराधसंहिताको दफा–३७ ले जन्मकैदको निर्णय भएकालाई ‘कैद छुट’ नदिने व्यवस्था गरेको छ । सर्वोच्चले ‘कैद छुट दिनु’ भनेपनि सो आदेश कार्यान्वयन भैसकेको छैन ।
‘कैद छुट’ को माग गर्दै जैसवालका परिवारले सर्वोच्चमा रिट दायर गरेका छन् । सो मुद्दा फैसला भैसकेको छैन । सर्वोच्चको यसअघिको फैसला कार्यान्वयन भए जैसवाल १९ दिनपछि जेलको चौघेराबाट खुला आकाशमा निस्कन पाउँथे ।
मुलुकी ऐन–०२० अनुसार जम्मा १९ दिनको जेलजीवन बाँकी हुँदा कसरी उनी संसारबाटै बिदा भए ? उनको मृत्यु शंकास्पद छ । त्यसैले त परिवारले भनेका छन्, ‘घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ ।’
केन्द्रीय कारागार प्रशासनले उनको उपचारको क्रममा मृत्यु भएको बताएको छ । रातोपाटीसँग कुरा गर्दै केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले भने, ‘दीर्घरोगी हुनुहुन्थ्यो, स्वास्थ्य समस्या भएपछि शनिवार राति पौने १० बजे अस्पताल लगेका थियौं, भर्ना गरेको करिब २५ मिनेटमा मृत्यु भयो ।’
उनलाई पहिले केन्द्रीय कारागारमा रहेको अस्पतालमा उपचार गरेको र त्यहाँ उपचार नहुने भएपछि वीर अस्पतालमा लगिएको जेलर बाँस्कोटा बताउँछन् ।
संविधान दिवसको दिन मध्यराती कारागार प्रशासनले फोन गरेर जैसवालको मृत्यु भएको परिवारलाई जानकारी गराएको भतिजा शिवमले रातोपाटीसँग भने ।
जेलबाट गएको ‘त्यो फोन’
शनिवार मध्यराती रामलखनकी छोरी रश्मिको मोबाइलमा एउटा फोन आयो । त्यो फोन केन्द्रीय कारागारबाट थियो । बुबाको मृत्युको खबर सुनेपछि रश्मि बेहोस भइन् ।
भतिजा शिवमले रातोपाटीसँग भने– ‘हामी तत्काल काठमाडौं हिँड्यौं ।’ ४ असोजमा बिहान उनीहरु काठमाडौँ आइपुगे । सिधै वीर अस्पताल गए ।
अस्पतालमा पुग्दा उनको शव छोपेर राखिएको थियो । रश्मिले रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘त्यतिबेला बुबाको अनुहार मात्र देखाइदिनु भन्दा अस्पताल प्रशासनले मानेन् ।’ हजार बिन्ती गर्दापनि अस्पतालका कर्मचारीले परिवारलाई रामलखनको शव देखाएनन् ।
अन्ततः सोमबार दिउँसो रश्मिले अस्पताल प्रशासनलाई झुक्याउँदै बुबाको मुख हेर्न पाइन् । ‘जब बुबाको मुख देखें, आफै डराएँ,’ रश्मिले रातोपाटीसँग भनिन्–‘ जताततै रगत बगेको थियो, घाँटी र मुख माक्सले ढाकिएको थियो ।’
शरीरमा पानीको फोका जताततै थियो । आँखा र मुखबाट रगत लतपतिएर अनुहार प्रष्ट देखिएन । रश्मिले भनिन्– ‘मेरो बुबालाई मारेर सडाएको हुनुपर्छ ।’
रश्मिले बुबाको शवको अवस्थाको भिडियो समेत खिचेकी छिन् । रातोपाटीलाई प्राप्त सो भिडियोमा मृतक जैसवालको अनुहार रक्ताम्मे छ ।
कारागार र अस्पताल प्रशासनले मिलेमतोमा घटना ढाकछोप गर्न खोजेको परिवारको आरोप छ । शिवम भन्छन्, ‘ठुलोबुबाको अस्पतालमा नभएर कारागारमा नै हत्या भएको हो ।’ रामलखन पूर्वजनप्रतिनिधि समेत हुन् ।