भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा रहेको कोरोना उपचार अस्थायी अस्पतालको आईसीयूमा रहेका एक युवकको मंगलबार बिहान मृत्यु भएको छ ।
उनको ’थ्रोट स्वाब’ परीक्षणकालागि काठमाडौं पठाइएको छ । परीक्षणको नतिजा भने नआइसकेको अस्पतालले जनाएको छ । वीरगञ्जका ३० वर्षीय युवक केही समयदेखि मिर्गौला, छाला र फोक्सोमा समस्या हुने लुपस नामक रोगबाट पीडित थिए । ज्वरो र निमोनिया देखिएपछि आइतबार उनलाई कोरोना अस्थायी अस्पतालमा ल्याइएको थियो ।
उनी हालसालै कतै विदेश नगएको उनको पारिवारिक स्रोतले बताएको छ । उनलाई वीरगञ्जबाट अस्पतालले रिफर गरी चितवन मेडिकल कलेज पठाएको थियो । कोरोनाको आशंका गरी मेडिकल कलेजले कोरोना अस्पताल पठाएको थियो ।
टेकु अस्पताल स्रोतले परीक्षणको नतिजा साँझसम्म आउने बताएको छ । युवकको शवलाई अहिले अस्पतालमै सुरक्षित तरिकाले राखिएको छ ।