उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम सहित त्रियुगा नगरपालिकाको प्रशासनिक केन्द्र गाईघाट हो । गाईघाटलाई दुई वटा वडामा विभाजित गरिएको थियो जस्लाई गाईघाट बजार र पुरानो गाईघाट भन्ने गरिन्छ। गाईघाट त्रियुगा नगरपालिकाको वडा नं. ११ र वडा नं. १२ मा पर्दछ। दुवै वडाको जम्मा क्षेत्रफल १६.११ वर्ग किलोमिटर रहेको छ ।
जिल्लाको सदरमुकाम सहित नगरको प्रशासनिक क्षेत्र समेत रहेको (पुरानो गाईघाट) वडा नं १२ त्रियुगा नगरपालिकाको नजरमा भने पर्न सकेको छैन । बत्ती मुनि सधै अँध्यारो हुन्छ भने जस्तो नगरको मुटुमा अवस्थित भए पनि यो वडाले दीर्घकालीन बिकास देख्न पाएको छैन । यस वडा भित्रको भौतिक पुर्वधारको क्षेत्रलाई हेर्ने हो भने २०० मिटर मात्र सडक कालोपत्रे भएको छ ।
त्रियुगा नगरको प्रशासनिक क्षेत्र भित्र अवस्थित यो वडामा सबै भन्दा बढी ज्याला मजदुरी गरेर खाने मानिसहरुको बसोबास छ । अति सीमान्तकृत, पिछडिएका बर्ग, गरिव र असाहयहरु यहाँका मुख्य बासिन्दा हुन । त्रियुगा नगरपालिकाको यो वडमा सरकारी बिद्यालय छैन । जहाँ अधिकांश जनता गरिविको रेखामुनी छन, अति विपन्न छन त्यस्तो वडामा एउटा पनि सरकारी बिद्यालय नहुदा त्यहाँको शैक्षिक अवस्था कस्तो होला अनुमान लगाउन सकिन्छ ।
निजी बिद्यालय सञ्चालनमा रहे पनि सरकारी बिद्यालय नहुदा यहाँका सयौं बालबालिका शिक्षाबाट बञ्चित हुन परेको छ । बालबालिकानै शिक्षा बाट बञ्चित रहनु परेको अवस्थामा त्यस क्षेत्रको चेतना स्तर र समाजको अवस्था कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ ।
पुर्व पट्टि बरुवा नदि र पश्चिम पटि त्रियुगा नदिको चेपमा टापु जस्तै देखिने यस वडामा प्राकृतिक सम्पदाको रुपमा जम्मा त्रियुगा र बरुवाको ढुङ्गा गिटी बालुवालाई मात्र लिन सकिन्छ । यस वडाको अधिकांश भुभाग नदि उकास जमिन हो । जहाँ उब्जा एक दमै कम हुने गर्दछ । यस वडाका मानिसको मुख्य पेसा नै ज्यालामजदुरी हो ।
नदि उकास जमिन भएका कारण यस वडमा सार्वजनिक र ऐलानी जग्गा प्रसस्त छ्न । सार्वजनिक र ऐलानी जग्गा प्रसस्त भए पनि भुमिहिन मानिसहरु पनि यस वडामा पाइन्छन । गाईघाट बजार क्षेत्र भएपनि यहाँका सडकलाई खाल्डा खुल्डीले सौन्दर्य भर्न परेको छ । धुलाम्मे सडक, साना भुई घर, फुसका छानाका घर, बेरा लगाएर बसेका घर यहाँका बिशेषता भित्र पर्दछन ।
एक बर्ष अगाडि मात्र प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना पछि त्रियुगाको वडा नं. १२ मा प्राथमिक उपचार सुरु भएको छ । यस अघि वडाका नागरिकले प्राथमिक उपचारका लागि जिल्ला अस्पताल जानू पर्ने बाध्यता थियो ।
त्रियुगा नगरपालिका वडा नं. ११ (गाईघाट) भन्दा सतहको रुपमा हल्का होचो रहेको पुरानो गाईघाटले वडा नं. ११ को शहरीकरण र बजारीकरणलाई समेत धानी दिनु परेको छ । अव्यवस्थित शहरीकरण र अवैज्ञानिक ढल निकास र फोहोर व्यवस्थापनलाई त्रियुगा वडा नं. १२ वासिले वडा नं. ११ को समेत समस्या झेली दिनु परेको छ ।
निवर्तमान मेयर वलदेव चौधरीले बलजफ्ती त्रियुगाको फोहोर वडा नं. १२ को बिसनपुरमा व्यवस्थापन गराउदै आएका थिए । बिसनपुर र त्रिवेणी टोलको बस्ती नजिकै फोहोर व्यवस्थापन गर्दा ती टोलहरुमा बसोबास गर्ने सर्वसाधारणलाई सास्ती भएको कैलाश कुमार चौधरी बताउछन ।
असार १७ गते आएको अविरल बर्षाले गाईघाट लगाएत पुरानो गाईघाट क्षेत्र डुवानमा परो । गाईघाट अर्थात वडा नं ११ मा आकासबाट परेको पानीको उचित निकास नहुँदा डुवानमा परेको थियो भने तेहि गाईघाटको पानी (पुरानो गाईघाट) वडा नं. १२ मा आएर नियन्त्रण बिहिन बनेर आधा दर्जन बढी टोल तथा बस्ती डुवानमा पर्यो ।
वडा नं. ११ बाट अनियन्त्रित बनेर झरेको बाढीले सुनगाभा टोल, इन्द्रेणी टोल, जनप्रेमी टोल, बुद्ध चोक, बिसनपुर, सोनापुर, त्रिवेणी टोल लगायतका बस्तीहरु डुवानमा परे । सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायतमा क्षति पुगेको छ । गाईघाट बजारबाट ढल निकास गरि ल्याएको पानीको बहाव नालिमा नअटे पछि अनियन्त्रित भएर वडा नं. १२ का घर तथा बस्तीहरुमा पसेको हो । ११ नं. बाट १२ हुँदै आएका नाली फोहोर सहित भरिएर आएको थियो । सुनगाभा र इन्द्रेणी टोलमा पानी नालीमा अटेन सबै बस्ती र घरमा पस्यो इन्द्रेणी टोलका स्थानीय सुवाश विकले बताए ।
यता थरुहट रंगशाला लगायत, कृषि बजार लगायतका क्षेत्रमा परेको पानीको काहिँ कतै निकास छैन । वडा नं. ११ को साकेला टोल, ढिम्की, शिवालय टोल सम्मको बर्षातको पानीको निकास मदन भण्डारी राजमार्गमा कलवर्ट बनाएर वडा नं. १२ तिर अनियन्त्रित ढंगले छाडिएको छ । ११ नं. वडा बाट यसरी छाडिएको निकास, वडा नं. १३ का असारी रोड, जोगि पोखरी, थरुहट रंगशाला, सगरमाथा कृषि बजार लगायतका क्षेत्रमा परेको बर्षातको पानी कतै निकास गरिएको छैन ।
यि क्षेत्रको पानी जम्मा भएर जनप्रेमी टोल सरस्वती महतराको घर नजिक एकोहोरिएर मानिसलाई आवाजजावत नै हुन नसक्ने गरि बाढी बनेर बग्ने गर्दछ । त्यो पानी बग्दै जादा वडा नं १२ का बुद्ध चोक, बिसनपुर, सोनापुर, त्रिवेणी टोलका बस्ति जलमग्न हुने गर्दछ । माथी देखि झरेको बाढीले विभिन्न वस्तीका घरकालत्ताकपडा, पशु चौपाया बगाएर लगिदिने गरेको त्रिवेणी टोलका राम कुमार राइले गुनासो गरे ।
“भारी बर्षा भयो भने आगनमा निक्लिन सकिन्न, सानो बच्चाहरु आगनमा खेल्न निस्क्यो भने पनि बाढीले बगाएर लैजाला भन्ने डर छ ।” राईले भने, ” यहाँ हाम्रो एरियाको मात्र पानी भएपो थेग्न सक्थ्यो, वडा ११ नं. देखि १३ र १२ को सबै पानी कतै निकास छैन सव यहि हाम्रो टोलमा आउँछ।”