

उदयपुर । गाईघाट बजारको सडक पेटिमा राखेर बिक्रीवितरण गर्दै आएका फलफुल र चनाचटपटे ब्यापारीहरुलाई व्यवस्थित गर्न त्रियुगा नगरपालिकाले फलफुल बजार सुचारु गर्न लागेको छ ।
त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको संयुक्त प्रयासमा नगरप्रहरी र यातायात कार्यलय नजिकै रहेको जग्गामा फलफुल बजार सुचारु गर्न लागिएको हो ।
सडकपेटीमा ठेला राखेर चटपटे र फलफुल बिक्रीवितरण गर्दै आएका साना व्याबसायीहरुले अव अनिवार्य उक्त फलफुल बजारमा आफ्नो व्यबसाय सञ्चालन गर्न पर्ने छ ।
सडकपेटीमा फलफुल, सब्जी तथा ठेलाहरुका कारण बजारको सौर्न्दर्य बिगार्नुका साथै बजारमा पैदलयात्रुलाई समेत हिड्न समस्या हुँदै आएको छ ।
सडकमा सवारी साधनको चाप बढ्दै जादा सडकपेटीमा राख्ने व्यवसायका कारण सडक दुर्घटना हुन सक्ने सम्भावनालाई समेत न्यूनीकरण गर्न सडकपेटीका व्याबसायीलाई व्यवस्थापन गर्न फलफुल बजार सञ्चालन ल्याइएको हो ।
सयौंको संख्यामा बजार एरियामा सडकपेटीमा फलफुल तथा ठेला राखेर खुद्रा व्यापार गर्दै आएका व्यापारीहरुलाई सडकपेटीबाट हटाउन प्रयास गरे पनि उनिहरुको उचित व्यबस्थापन नहुदा हटाउन सकिएको थिएन ।
अब फलफुल बजार सञ्चालनमा आए पछि उक्त स्थान भन्दा बाहिर सडकपेटीमा ठेलाराखेर वा जस्तो सुकै अवस्थामा पनि व्यवसाय गरे समान खोसिने र उठाउने नगरपालिकाले जनाएको छ ।