उदयपुर । कोरोना पुष्टि भएकी चैत ४ मा कतार हुँदै फ्रान्सबाट आएकी युवतीसँगै आएका एक युवा उदयपुरको बेलकामा भेटिएका छन् ।
फ्रान्सबाट कतार एयरवेजको हवाई जहाजमा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आउने यात्रुहरुको खोजी गर्ने क्रममा ती दुई युवक फेला परेका हुन् ।
४ चैतमा कतार एयरलाइन्सको क्युआर ६५२ विमानबाट आएका एक यात्रु बेलका नगरपालिका–३, रातापानीमा भेटिएको मेयर दुर्गाकुमार थापाले जानकारी दिए ।
‘बेलका–३, रातापानीको प्रगति टोलका विद्यानन्द चौधरी कतार एयरवेजको उक्त फ्लाइटबाट आएका रहेछन्,’ मेयर थापाले भने, ‘हाल उनलाई ज्वरो पनि छ, उनी आएर घरमा आइसोलेसनमा नबसी बाहिर काम गरिरहेका छन् ।’
कोरोना संगै संक्रमितसँग आएका युवक फेला परेकाबारे मुख्यमन्त्रीका स्वकीय सचिव, प्रदेश नम्बर १ को आन्तरिक मामिला मन्त्रालय, स्वास्थ मन्त्रालय, धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान र उदयपुरका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको मेयर थापाले बताए । तर, ती सबै निकायले एक अर्कालाई जिम्मा दिएर पन्छिन खोजको भन्दै प्रमुख थापाले गुनासो गरे।
यता प्रमुख जिल्ला अधिकारी दीपकुमार थापाले भने ती युवकलाई धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लाने तयारी भै रहेको जानकारी दिएका छन् ।