उदयपुर । त्रियुगा नगरपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक बर्ष ०७९/८० मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
नगरपालिकाले यस आर्थिक बर्षमा गरेका योजना तथा प्रदान गरेका सेवाको पारदर्शीता सुनिश्चीतता गर्नका लागी सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको नगरका प्रवक्ता तथा वडा नं ३ का वडा अध्यक्ष तिलक कटुवालले जानकारी दिनुभयो ।
त्रियुगा नगरपालिकाको आयोजनामा तथा सुशासनका हिमायती (जि क्यु) को सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमका सहभागीले बिकास भनेको भौतिक रुपमा आँखाले देखिने भए मात्र त्यसको मुल्यांकन हुने हुँदा भौतिक बिकासमा ध्यान दिन सुझाव दिएका थिए ।
सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए । सहभागीहरुका गुनासा र सुझावलाई सम्बोधन गर्दै नगर प्रमुख वसन्त कुमार बस्नेतले नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई क्रमश पहिलो, दोस्रो, तेस्रो गर्दै प्राथमिकतामा राखेको बताउनु भयो । भौतिक पूर्वाधारले मात्र मानव र हाम्रो समाजको सर्वाङिण बिकास नहुने भन्दै नगर प्रमुख बस्नेतले नगरका जनतालाई आत्म निर्भर बनाउन बिकासका सम्पुर्ण सूचकमा अव्वल बनाउने योजना सहित काम सुरु गरिएको बताउनु भयो ।
यस्तै नगर उपप्रमुख महेश्वरी राईले सार्वजनिक सुनुवाई कार्यक्रमा उठेका जिज्ञासालाई सम्बोधन गर्दै नगरपालिका सदैव जनतप्रती उत्तरदायी भएर काम गर्ने उल्लेख गर्नु भयो ।