उदयपुर । सुरक्षित आप्रवासन (सामी) परियोजनाका कार्यक्रम अन्तरगत उदयपुरका बैदेशिक रोजगारमा गएकाहरुमा १ सय ७८ केस दर्ता भएका छन । आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका केस मध्ये त्रियुगा नगरपालिका सबै भन्दा बढी र रौतामाई गाउपालिकामा सबै भन्दा कम केस रहेका छन ।
दर्ता भएका केसमा ठगी सम्बन्धी केस बढी रहेका छन। त्यस पछि बैदेशिक रोजगारीमा रहदा मृत्यु हुनेको केस दोस्रोमा रहेको छ। उदयपुरमा हाल सम्म ९६ जना बैदेशिक रोजगारीमा ठगिएको केस आएको छ भने २६ जनाको मृत्यु भएको छ। त्यस्तै जेलमा ६ जना र ८ जना सम्पर्क बिहिन बनेका केस दर्ता भएका छन।
स्रोत केन्द्रमा दर्ता भएका केस मध्ये ८७ केस समाधान भई सकेको, ६७ केस समाधानको प्रक्रियामा रहेको र २४ केस समाधान हुन नसकेको सामी कार्यक्रमका संयोजक बिजना बस्नेतले जानकारी दिइन। बैदेशिक रोजगारमा रहदा समस्यामा परेका हरुलाई ४ करोड १२ लाख ३२ हजार ७ सय १६ रुपैया आर्थिक सहायता गरि सकिएको संयोजक बस्नेतले बताइन।
त्रियुगा नगरपालिकाको सभाहल भएको स्थानीय जनप्रतिनिधि सँगको अन्तरक्रिया कार्यक्रममा हाल सम्म सुरक्षित आप्रवासन सामीले गरेका बिवरण प्रस्तुत गर्दै संयोजक बस्नेतले जानकारी दिएकी हुन् । अन्तरक्रिया कार्यक्रममा त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत, चौदण्डीगढी नगर प्रमुख कालुमान लामा, रौतामाई गाउपालिका अध्यक्ष वीरेन्द्र कुमार मगर, उपाध्यक्ष भुपिन्द्र बहादुर थापा र कतारी नागरपालिका उप प्रमुख गीता खड्काले शुभकामना मन्तब्य राखेका थिए ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन कार्यक्रमले उदयपुरका ४ वटा पालिकामा प्रत्यक्ष रुपमा काम गर्दै आएको छ। कार्यक्रमले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा काम गरिरहेको छ ।