उदयपुर । उदयपुरको भुल्के सर्पदंश उपचार केन्द्रलाई थप व्यवस्थित गर्न प्रदेश सरकारले पोर्टेवल भेन्टिलेटर उपलब्ध गराएको छ। आज एक कार्यक्रम गर्दै कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा र स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो लिम्वुले सर्प दंश उपचार केन्द्रलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ स्थित नेपाली सेनाको १८ नम्बर वाहिनी अड्डाको हाताभित्र रहेको सामुदायिक सर्पदङ्स उपचार केन्द्रलाई थप व्यवस्थित गर्नका लागि सामाग्री सहयोग गरिएको मन्त्री लिम्वुले बताउनु भयो । मन्त्री लिम्बुले कोशी प्रदेश भित्र सञ्चालनमा रहेका सवै अस्पतालहरुको सुधार गर्न स्वास्थ्य मन्त्रालय पछि नहट्ने उल्लेख गर्नु भयो ।
सोही कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले सर्पदंश उपचार केन्द्रको सुदुढिकरण सँगै उदयपुर जिल्ला अस्पतालमा वेड सङ्ख्या कम भएर उपचार सेवा नै प्रभावित हुने गरेकोले शैया थप गर्नका लागि मन्त्रालयबाट पहल गरिदिन आग्रह गर्नु भयो ।
यस्तै चौदण्डिगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले त्रियुगा र चौदण्डी क्षेत्र चुरे भावर क्षेत्र भएकाले पनि यहाँ सर्पदंशका बिरामी बढ्ने गरेको उल्लेख गर्नु भयो । २०६८ साल भदौ १७ गतेबाट सञ्चालनमा ल्याइएको सो उपचार केन्द्रमा हालसम्म कुनै अप्रिय घटना नभएको र बर्षेनी सर्पदंशका बिरामी थपिदै गएको नेपाली सेनाका सहसेनानी डा.मनिष यादवले बताउनुभयो ।