उदयपुर । कोशी प्रदेशमा मंगलबारबाट विविध कार्यक्रम सहित ट्राफिक सप्ताह सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह सुरु गरिएको हो ।
उदयपुरमा पनि एक समारोहका विच ट्राफिक सप्ताहको सुरु गरिएको छ । गाईघाट स्थित पिपल चोकबाट प्रभातफेरी सहित सुरु गरिएको पहिलो दिनको कार्यक्रम अन्तर्गत त्रियुगा नगरपालिका ३ स्थित बसपार्कमा पुगेर एक कार्यक्रम सहित समापन गरिएको छ ।
कार्यक्रमको उद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्तकुमार बस्नेतले एक सवारी चालकलाई हेल्मेट लगाई दिएर गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख बस्नेतले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताउनु भयो । उहाँले विद्यालयमा हरेक साता एक दिन ट्राफिक जनचेतना संबन्धि कार्यक्रमहरु संचालन गर्नु पर्नेमा बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शहरीकरण बढे संगै बढ्दो सवारी दुर्घटना नियन्त्रण गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले ट्राफिक प्रहरीले मात्रै नभएर नागरिकहरु पनि सचेत हुनु पर्ने अबस्था आएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले पछिल्लो समय मदन भण्डारी राजमार्ग सगरमाथा राजमार्गमा सवारी चाँप बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा चुनौती सृजना भएकाले त्यसलाई सहज र सरल बनाउनका लागि नगरपालिकाले सहयोग पु¥याउनेमा जोड दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले सवारी चाँप बढे संगै दुर्घटनाका घटनाहरु समेत बढ्न थालेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि प्रहरीले सचेतना, कारवाहि र ट्राफिक व्यवस्थापनमा काम गरिरहेको बताउनु भयो ।