उदयपुर । त्रियुगा नगरपालिकाको पहाडी वडा जाल्पाचिलाउने स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । शनिबार सुकौरामा एक कार्यक्रमकाबीच त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन । उदयपुर सिमेन्ट उद्योगको समन्वयमा सानिमा जनरल इन्स्योरेन्स कम्पनीको १५ लाख, वडा कार्यलयको ५ लाख, माछापुच्छ्रे बैंक ५ लाख गरि जम्मा २५ लाख रुपैयामा उपलब्ध गराइएको एम्बुलेन्सलाई आज नगर प्रमुख बस्नेतले साचो र ब्लु बुक हस्तान्तरण गरेका छन ।
नयाँ एम्बुलेन्सको चावि हस्तान्तरण गर्दै मेयर बस्नेतले भने, “वडाका नागरिकको स्वस्थ्य सेवामा पहुँच बृद्धी गर्ने नगरपालिकाको उदेश्य अनुरुप विभिन्न निकायसँगको सहकार्यमा एम्बुलेन्स ल्याएका हौ, अव यसबाट तपाईहरुको स्वास्थ्यमा पहुँच पुग्छ, अकालमै अर्थात स्वास्थ्य संस्थामा पुग्न नपाई ज्यान जाने प्रथाको अन्त्य हुने छ ।”
विकास निर्माणका सवालमा मेयर बस्नेतले दीर्घकालिन सोच बनाई नगरपालिकाका १६ वटै वडामा बर्षदिन भरी नै सञ्चालन गर्ने गरी सडक निर्माणका कामहरु भईरहेको बताए । बर्खायाममा नयाँ सडकहरु बर्खाले अवरुद्ध भए पनि बर्खा सकिन साथ ति सडकलाई चालु आर्थिक बर्षमा पुन निर्माण गरि बर्खा याममा समेत संचालन हुने गरि व्याबस्थित तरिकाले निर्माण गरिने मेयर बस्नेतले जानकारी दिए।
कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले बैंकहरुको मुनाफाको एक प्रतिशत सामाजिक कार्यमा लगाउने व्यवस्था अनुसार एम्बुलेन्स खरिदमा सहयोग गरिएको बताए । उनले यसअघि पनि सिद्धवती माध्यमिक बिद्यालयका बालबालिकालाई जाडोमा लगाउने स्वीटर, वडां ५ स्थित स्वास्थ्य चौकी देउरीलाई ५ लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको बताए ।
त्यसैगरी इन्स्योरेन्स कम्पनीका प्रवन्धक बृद्धी नेउपानेले इन्स्युरेन्स कम्पनी मुनाफा मात्र आर्जन गर्छन सामाजिक अभियानमा जोडिँदैनन भन्ने भ्रम चिर्न यस्ता सहकार्यले महत्वपूर्ण सहयोग पुग्ने बताए । वडाध्यक्ष मानबहादुर राईले वडानं १६ का महिला स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पोषण वापत ५ हजार रुपैँया सहयोग गर्दै आएको बताए । उनले खरिद गरिएको एम्बुलेन्स केहि दिनभित्रै कार्यविधी तयारगरी सुत्केरीलाई निःशुल्क र जेष्ठनागरिकलाई सहुलियत पूर्ण व्यवस्था गरी सञ्चालन गरिने उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले एम्बुलेन्स खरिद भन्दा पाल्न चर्को हुने गरेकाले नीति बनाई कार्यान्वन गर्न आग्रह गरे । पछिल्लो समय सरकारी एम्बुलेन्स सकिने र निजी फस्टाउने गरेको उदाहरण दिँदे उनले सर्वसलुभ रुपले जनतालाई सेवा दिएर पनि एम्बुलेन्स सञ्चालन गर्न कठिनाई नहुने धारणा व्यक्त गरे ।