उदयपुरमा प्याराग्लाइडिङ फ्लाई कक्षा संचालनमा आउने भएको छ । फ्लाईङ वन्डर्स प्याराग्लाईडिङ प्रा.लीले उदयपुरको बेलका, त्रियुगा र चौदण्डीमा फ्लाई प्याराग्लाईडिङ कक्षा संचलान ल्याउन लागेको हो ।
२०२२ मा कक्षा संचलान गरि ३ दर्जन बढी फ्लाई पाइलट उत्पादन गरि सकेको प्रालीले २०२३ का लागि पनि सिक्नको लागि भर्ना आह्वान गरेको छ । कार्तिक १० गते देखि २५ गते सम्मका लागि १५ दिने बेसिक कोर्सको कक्षा बेलकामा संचालन हुनेछ । फ्लाईङ वन्डर्स प्याराग्लाईडिङ प्रा.लीले बेसिक कोर्स पश्चात एडभान्स कोर्स स्वरुप त्रियुगा, चौदण्डी र बेलकामा पुन: कक्षा संचालन गर्ने प्याराग्लाईडिङका जानकार जितु रोइलाले जानकारी दिए ।
प्लाराग्लाडिङ उड्ने र हेर्ने दुवैका लागि मनोरञ्जन प्रदान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत जोड दिने भएकाले यसलाई व्यावसायिक रूपले अघि बढाउन शुरु गरिएको त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहकार समेत रहेका रोइलाले बताए।
साहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने प्याराग्लाईडिङका लागि उदयपुरमा राम्रो सम्भावना देखिएको छ । पर्यटन प्रबर्द्धनलाई प्राथमिकतामा राखेर उत्पादन र रोजगारी सृजना गर्ने उदेश्यले साहासिक खेल प्याराग्लाईडिङमा नगरपालिकाले चासो दिएर लगानी गर्ने त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले बताए ।
नगरलाई आधुनिक र उद्यमशील बनाउन पर्यटन प्रवद्र्धनका लागि सदरमुकामबाट पाँच किलोमिटर दूरीमा प्याराग्लाइडिङको सफल परीक्षण गरिसकिएको छ । गाईघाटबाट नजिकको दूरीमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गरी फर्किने पर्यटकलाई त्रियुगानगरसहित सप्तरी, सिराहासम्मका भूभाग देखिने गरी नवउदय सामुदायिक वनमा प्याराग्लाइडिङका लागि स्टेसन बनाएर उडान गरिने मेयर बस्नेतले बताए ।