उदयपुर । उदयपुरमा साहासिक खेल प्याराग्लाइडिङको व्यासायिक उडान सुरु हुने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र कटारीमा प्याराग्लाइडिङका सबै परीक्षण उडान सफल भएका छन ।
उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनार, कटारी नगरपालिका ७ को पर्यटकीय क्षेत्र मर्जितपुर, चौदण्डीको रानीटार र त्रियुगा नगरपालिका १० नव उदय सामुदायक बन राते डांडामा प्याराग्लाइडिङ स्टेसन बनाएर उडान भर्ने गरिएको छ ।
हावापानी र मौसमले अत्यन्त प्रभाव पार्ने प्याराग्लाइडिङमा उदयपुरको त्रियुगा नगरपालिकामा पर्ने राते डांडाबाट गरिने प्याराग्लाइडिङ भने अन्य स्थानको तुलनामा कम जोखिम र दृश्य अवलोकनका लागि पन उत्कृष्ट रहेको जानकारहरु बताउछन। त्रियुगामा १२ महिनै प्याराग्लाइडिङ गर्ने सकिने गरि परीक्षण उडान सफल भएका छन ।
गाईघाट बजार नजिकै रहेको यस ठाउमा प्याराग्लाइडिङ उडाउन आएका पाइलट धन कुमार राई अन्य स्थान भन्दा गाईघाट बजार कम जोखिम र दृश्य अवलोकनका लागि पन उत्कृष्ट रहेको बताउछन। अर्का पाइलटनवराज राई भने यो क्षेत्रमा १२ महिना प्याराग्लाइडिङ गर्न का लागि राम्रो ठाउ र हावा पानी भएकाले यसलाई स्थानीय सरकारले व्यबसायीका रुपमा योजनाबाध ढंगबाट अगाडी बढाएर लैजानु पर्ने बताउनु हुन्छ ।
प्याराग्लाईडिङलाई व्यावसायीक र व्याबस्थित बनाउने उदेश्यले फ्लाई कक्षा संचालन गरि पाइलट उत्पादन समेत थालिएको प्याराग्लाईडिङका जानकार थाथा त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहाकार जितु रोइलाले बताउनु भयो पाइलट उत्पादनका लागि फ्लाईङ वन्डर्स प्याराग्लाईडिङ प्रा.ली मार्फत कार्तिक १० गते देखि २५ गते सम्मका लागि १५ दिने बेसिक कोर्सको कक्षा संचालन गर्ने भएको छ ।
पर्यटन प्रबर्द्धनलाई प्राथमिकतामा राखेर उत्पादन र रोजगारी सृजना गर्ने उदेश्यले साहासिक खेल प्याराग्लाईडिङमा नगरपालिकाले चासो दिएर लगानी गर्ने त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले बताउनु भयो । त्रियुगा नगरसहित सप्तरी, सिराहासम्मका भूभाग देखिने र प्याराग्लाईडिङका लागि सहज पहुच मार्ग भएका कारण यहाँ प्याराग्लाईडिङका लागि राम्रो स्थान रहेको नगर प्रमुख बस्नेतले बताउनु भयो ।
नागरिक उड्डयन प्राधिकरणबाट प्याराग्लाइडिङ उडानका लागि त्रियुगा नगरपालिकामा अनुमति प्राप्त भै सकेको छ । साहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने प्याराग्लाईडिङका लागि उदयपुरमा राम्रो सम्भावना देखिएको छ । स्थानीय सरकारले यसमा लगाने गरे पर्यटन प्रबर्द्धनमा प्याराग्लाईडिङ कोसे ढुंगा सावित हुने देखिन्छ।