उदयपुर । नेपाल नेत्रज्योती संघ र सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा त्रियुगा नगरपालिका वडा नं १ ले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ। १ दिने निःशुल्क आँखा शिविरबाट वडा भित्र र बाहिरका ४ सय २९ जना आँखाका बिरामीले उपचार पाएका छन ।
वडा नं १ स्थित बरगाछीमा भएको एक दिने आँखा शिविरमा १ सय ९८ विद्यार्थी र २ सय ३१ जना सर्वसाधारणले आँखाको जाँच गराएका हुन । शिविरमाअ चेक जाँच गर्दा शल्यक्रिया गर्नु पर्ने भएमा बिरामीलाई अस्पताल लगेर नि:शुल्क शल्यक्रियाको व्यवस्था समेत गरिने गरि शिविरको आयोजना गरिएको त्रियुगा वडा नं १ वडा अध्यक्ष मनोज कुमार चौधरीले बताए ।
विशेषत अहिलेको प्रविधिको युग भएका कारण विद्यार्थी र बच्चाहरुमा आँखामा समस्या देखिने भएका कारण विद्यार्थीलाई लक्षित गरि शिविरको आयोजना गरिएको वडा अध्यक्ष चौधरीले जानकारी दिए । चौधरीका अनुसार विद्यार्थीहरुमा आँखामा समस्या देखिए शल्यक्रिया देखि चस्मा लगाउन परे पनि नि:शुल्क उपलब्ध गराइएको छ ।
आँखा शिविर कार्यक्रमको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले प्रविधिको प्रयोगले समेत आँखामा असर गर्ने र जनचेतनाको कमीले गर्दा आँखामा संक्रमण हुँदा धेरैले दृस्टी बिहिन हुन परेको बताए । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेका कारण शिविरको आयोजना गरिएको नगर प्रमुख बस्नेतको भनाई थियो ।