उदयपुर । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विकास निर्माणमा लगायत बाहिरीकाममा महिला सहभागिता वृद्धि हुँदै गएको छ । कार्यक्रम मार्फत हुने साना विकास निर्माणका कामहरू साना सिँचाइ योजना, बाटो निर्माण, खानेपानी योजनामा महिलाको सहभागिता बढेको हो ।
त्रियुगा नगरपालिकाबाट संचालन गरिएको कार्यक्रमबाट १३ महिलाले रोजगारी पाउनका साथै आर्थिक उपलब्धि गरेका छन । घरमै बसेर अर्काको आशमा जिउन पर्ने महिलाले अहिले आफ्नै गाउँमा १ सय दिने रोजगार पाउँदा हर्षित छन । नगरपालिकाले वडा नं १४, १५ र १६ गरि तीन वडाका १३ महिला र २३ पुरुष गरि ३४ जनालाई १०० दिनको रोजगारी दिने भएको छ ।
दैनिक ६ सय ६८ रुपैयाँका दरले उनिहरुले बिहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म काम गर्न पर्ने हुन्छ । नगरपालिकाले ३४ जना लाई तीन वटा वडाको करिव १५ किलो मिटर सडक सफाई गर्न पर्ने , सडक नजिकको झाडी फडानी गर्न पर्ने, ढुङ्गाको सोलिङ, मेसिनरी पर्खाल, ढुङ्गा जाली भर्न पर्ने, कच्ची नाली निर्माण गर्न पर्ने र रिटर्निङ पर्खाल लाउन पर्ने गरि काम दिएको छ ।
प्रधानमन्त्री रोजगारका लागि योजना छनोट गर्दा पालिकाको आवश्यकता र उक्त कार्यक्रमको जनशक्तिले गर्न सक्ने काम अनुसार योजना पहिचान गर्ने गरेको छ । रोजगारमा संलग्न हुने जनशक्ति सबै सीप युक्त र दक्ष नहुने भएकाले योजना पनि उहीहरूले सम्पन्न गर्न सक्ने खालकै छनोट गर्ने गरिएको नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले जानकारी दिनु भयो ।
गरिबी न्यूनीकरण गर्न र बेरोजगार अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमले एउटा इट्टा थप्नुका साथै सामुदायिक पूर्वाधारका क्षेत्रमा काम हुँदा विकास निर्माणमा पनि टेवा प¥याएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।
यस्तै नगर उप प्रमुख महेश्वरी राईले आर्थिक हिसाबले विपन्न घर परिवारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले घरायसी खर्च टार्नुका साथै पारिवारिक मेल मिलापमा समेत सहयोग पुगेको बताउनु भयो ।
योजनाहरूका लागि पालिकाको तर्फबाट सामग्री उपलब्ध गराउने गरिएको र जनशक्ति प्रधानमन्त्री रोजगारबाट उपलब्ध हुने गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक निशा घलेले जानकारी दिनुभयो ।