उदयपुर । झिगु नेवा: पुच: त्रियुगा नगरपालिका १२ को आयोजनामा ३ दिवसीय नेवारी परिकार तालिमको समापन भएको छ । आदिवासी जनजाति महासंघको भवनमा गरिएको तालिममा त्रियुगा नगरपालिका १२ का १५ नेवार महिलाहरुले नेवार परिकार बनाउने तालिम लिएका हुन ।
पुसको २७ गतेदेखि २९ गतेसम्म भएको सो तालिममा त्रियुगा नगरपालिका वडा नं १२ का नेवारी महिलाहरुको सहभागिता रहेको थियो ।
नेवार परिकारमा विशेष गरि योमरी -(चुच्चे रोटी), चटामरी, सादा बारा, मासु बार, अन्डा बारा लगायतका परिकार बनाउन सिकाइएको थियो ।
कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख वसन्त बस्नेतले आफ्नो ऐतिहासिक कला संस्कृति र संस्कारको उत्थान गर्न लागि परेको झिगु नेवा: पुच: लाई धन्यवाद ब्यक्त गरे । मदन भण्डारी राजमार्ग सँगै रहेको हाम्रो नगरमा सम्पुर्ण जातजातिले आफ्नो परम्परागत परिकारहरुको स्वाद दिँदै होमस्टे सञ्चालन गर्नसके सफल महिला उद्यमी बन्न सक्ने उल्लेख गरे ।
भाषा, संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न पनि यस्ता तालिमहरुको आवश्यकता रहेको नगर उपप्रमुख महेश्वरी राईले बताईन । हरेक जातजातिका घरमा आफ्नो परिकार पाक्न छाड्दा आफ्नो संस्कृति र परिकार नै लोप हुने अवस्थामा पुगेको कार्यवाहक वडा अध्यक्ष अनिता थापाले बताइन ।