उदयपुर । नेपाली कांग्रेस उदयपुरले जागरण अभियान संचालन गर्ने भएको छ । २०८१ बैशाख ११ गते देखि बैशाख २३ गते सम्म जिल्ला भरी जागरण अभियान चलाउने भएको हो ।
पार्टीबाट बिजयी भएका स्थानीय तहका जनप्रतिनिधिहरु सँग सम्वाद, सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो ।
स्थानीय तहका जनप्रतिनिधिले गरेका राम्रा काम–कारबाहीलाई जनतामाफ लैजान र थप जिम्मेवार बनाउदै पार्टी संगठनलाई थप सुदृढीकरण गर्न जागरण अभियान सुरु गरिएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।
यस अघि नेपाली कांग्रेसले माघ १३–२६ सम्म ‘समुदायमा कांग्रेस’ अभियान संचालन गरेको थियो । कार्यक्रम संचालनकै दौरान पार्टीका केन्द्रीय सदस्य केसव बुढाथोकीको निधन पछि कार्यक्रम रोकिएको थियो । त्यसैले निरन्तरता स्वरुप कांग्रेसले जागरण अभियान शुरु गरेको हो ।
नेपाली कांग्रेस उदयपुर अहिले पहिलो पार्टीको रुपमा उदयपुरमा स्थापित छ । ८ स्थानीय तह मध्य ३ पालिकामा प्रमुख ४ पालिकामा उपप्रमुख र १ पालिका प्रमुख – उपप्रमुख विहिन छ ।
पहिलो पार्टी हुँदा हुँदै पनि पार्टीको आन्तरिक द्वन्दका कारण पार्टीमा लागेका कार्यकर्ताहरुले आफुलाई सुरक्षित महसुस गर्न नसकेको बताउदै आएका छन । जागरण अभियान संचालन गरेर आफुभित्रको तिक्तता मेट्न सके कांग्रेस उदयपुरको आउदो दिन सहज देखिन्छ भने आन्तरिक दुरि बढ्दै गए आउँदा दिनमा ठूलो पार्टी मरिच झै खुम्चिएर बस्न पर्ने अवस्था देखिन्छ ।