उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका १०/११ स्थित नव उदय सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको सामुहिक दुर्घटना बीमा गरिएको छ । वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ३ सय बढी उपभोक्ता समितिका सदस्यको दुर्घटना बीमा गरिएको हो।
सामुदायिक वनको आम्दानी उपभोक्ताकै हितमा लगानी गर्ने उदेश्य सहित उपभोक्ता समितिका ३ सय ५ सदस्यको १ लाख सम्मको दुर्घटना बीमा गरिएको नव उदय सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जीवन पाण्डेले जानकारी दिनु भयो ।
प्रती व्यक्ति बार्षिक १ सय ४५ का दरले ३ सय ५ सदस्यको दुर्घटना विमा गर्दा ४४ हजार २ सय २५ रुपैया लागेको अध्यक्ष पाण्डेले बताउनु भयो ।
सामुदायिक वनको कार्यलय परिसरमा एक कार्यक्रम गर्दै दुर्घटना बीमा गरेका सदस्यहरुलाई त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बीमा लेख प्रमाणपत्र हस्तान्तरण गर्नु भयो ।
बीमा लेख प्रमाणपत्र हस्तान्तरण गर्दै नगर प्रमुख बस्नेतले सामुदायिक वनको आम्दानीबाट आफ्नै वनका उपभोक्ताहरुको बीमा गराउनु अत्यन्तै राम्रो र सामाजिक काम भएको भन्दै यस्ता कार्यक्रम सवै सामुदायिक वन उपभोक्ता समितिले गर्न पर्ने बताउनु भयो ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी मार्फत दुर्घटना बीमा गरिएको र ३ सय ५ जना सदस्यको ३ करोड ५ लाख बराबरको दायित्व हुने गरि सामुदायिक वन सँग दुर्घटना बीमाको सम्झौता गरिएको इन्स्योरेन्स कम्पनीका गाईघाट शाखाका मेनेजर डिबि कटुवालले जानकारी दिनु भयो ।