पर्शुराम थापा, उदयपुर–त्रियुगा नगरपालिका–६ जलजले बजारमा पाँच जना सदा समुदायका महिलाले सिलाई कटाई व्यवसाय सुरुगरेका छन । सिलाई कटाई व्यवसाय सुरु गर्ने कुरा सानो विषय भए पनि सदा समुदायका महिलाहरुले सुरुगरेको यो पेशा उनीहरुको समुदायमै आएको ठुलो परिवर्तन हो ।
जामिनदारका खेतमा ज्याला मजदुरी गर्ने र खोलामा माछा मारेर जिवन धान्दै आएका सदा समुदाय भित्र महिलाको दैनिकी चुलाचौकामै बित्ने गरेको छ । चुलाचौका बाहेक बेलाबेला श्रीमानसंगै घरका ढलान, जमिनदारका खेत, खोलामा बालु चाल्ने जस्ता मजदुरीमा महिलाहरु जाने गरेकाछन । यस्तो अवस्थामा जिवन निर्वाह गर्दै आएका सदा समुदायका महिलाहरु सिपमुलक व्यवसायमा लाग्ने अवसर पाउनु र उनीहरु अग्रसर हुनु सदा समुदायमै आएको ठुलो परिवर्तन हो ।
नेपालमा निकै पिछडिएको समुदायमा पर्छ सदा समुदाय । यो समुदायका सवै जसो परिवारले दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आईरहेको छ । माटो संगको सवैभन्दा नजिक नाता रहेको यस समुदायको पुरानो मुख्य पेशा भनेको एक ठाँउको माटो भारमा बोकेर अर्को ठाँउमा भर्ने हो । यसका अलवा कृषि मजदुरी गर्ने र माछा मार्ने काम उनीहरुको परम्परागत पेशा हो । पछिल्लो समय सदा समुदायका मानिसहरु शहर बजारमा भारी बोक्ने, ठेला रिक्सा चलाउने, ईटा भट्टा र अन्य बिकास निर्माणका काममा ज्याला मजदुरी गर्दै आएकाछन् । साँझ विहानको छाक टार्ने जोहोकै लागि मेहनत गरिरहने यस समुदायमा साक्षरता दर निकै कम रहेको छ । सदा समुदायका सवैजसो परिवार सुकुम्वासी भएकाले उनीहरु नदी छेउछाउ तथा ऐलानी जग्गामा टहरा बनाई बसोवास गर्दै आएकाछन् ।
नेपालको तराई क्षेत्रहरु झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, सर्लाही, धनुषा, जनकपुर, रौतहत, महोत्तरीलगायतका तराईका जिल्लाहरुमा सदा जातिको बसोबास रहेको पाइन्छ । जसमध्य सप्तरी र सिरहा जिल्लामा सदा समुदायको बसोवास सवैभन्दा धेरै छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा सदा समुदायको जनसंख्या २ लाख ६४ हजार ९७४ रहेको छ ।
उदयपुरको त्रियुगा नगरपालिकामा सदा समुदायको जनसंख्या २ हजार ८५९ रहेको छ । त्रियुगा नगरपालिकाको १६ वटा वडाहरु मध्य १०, १४, १५ र १६ नम्वर वडा वाहेक १२ वटा वडाका समतर क्षेत्रमा सदा समुदायको बसोवास छ । ६९७ घरधुरी बसोवास रहेको त्रियुगा नगरपालिकाको ९ नम्वर वडामा सवैभन्दा धेरै १४२ घरधुरी सदा समुदाय छन् भने ११ नं. वडामा मात्र १ एक घरपरिवारको बसोवास छ । केही अपवाद वाहेक सदा समुदायका सवैजसो परिवार एउटै बस्तीमा बस्ने गर्छन् । त्रियुगा नगरपालिका क्षेत्रभित्र धेरै लामो समयदेखी बसोवास गर्दै आएको भएपनि सदा समुदायका सवैजसो परिवार सुकुम्वासी रहेको त्रियुगा नगरपालिका–९ गैरुनका मिश्रीलाल सदा बताउछन् । “हाम्रो पाँच पुस्ताले जंगली जनावरदेखी औंलो समेत खेपेर यहीको माटो खनजोत गर्यो तर अहिलेसम्म सदा समुदायमा कसैको पनि धनिपुर्जा छैन्” सदा भन्छन् “हातमुख जोड्न जमिनदारकोमा वनीबुतो गर्नुपर्ने भएकाले सामाजिक र आर्थीक रुपमा यो समुदायको आवस्था निकै दयनिय छ ।”
एकाध युवाहरु वाहेक सवैजसो सदा समुदायका मानिहरु निरक्षर छन् । बिद्यालयमा छात्रावृत्ती, पोषाक, पोषणलगायतका कार्यक्रमले आकर्षीत गर्ने प्रयास गरिएपनि बालवालीकाहरु पारिवारिक वातावरण नभएकै कारण बिद्यालयमा टिक्न सकेकाछैनन् । यो समुदायको सामाजिक र आर्थीक बिकासका लागि बेलाबला बिभिन्न कार्यक्रमहरु नभएका पनि होईनन् । तर हालसम्म भईरहेका प्रयासहरु लगभग बालुवामा पानी सहर बनिरहेकाछन् । सदा समुदायको बिकासका लागि सरकारी र गैरसरकारी संघसंस्थाले हालसम्म बिभिन्न क्षेत्रमा गरिरहेको प्रयास सफल हुन सकेको छैन् ।
छिन्नभिन्न रुपमा भईरहेका प्रयास उपलब्धीमुलक नभएपछि त्रियुगा नगरपालिकामा २०७९ जेष्ठदेखी ‘सदा समुदायको सर्वाङ्गिण बिकास परियोजना’ लागु गरिएको छ । सिप र प्रविधीका माध्यमवाट सदा समुदायको आर्थीक, समाजिक, शैक्षिकलगायतका क्षेत्रलाई एकिकृत बिकास गर्ने लक्ष्यका साथ कोषी प्रदेश सरकारको नवप्रर्वद्धन साझेदारी कोष र त्रियुगा नगरपालिकाको साझेदारीमा सञ्चालन भएको परियोजनाले सदा समुदायमा निकै परिवर्तन देखिएको छ ।
सदा समुदायको बिकासमा प्रमुख वाधक वनिरहेको उनीहरुको आर्थिक अवस्थालाई सुधार गर्न शिपमुलक कार्यक्रमलाई परियोजनाले प्राथमिक्तामा राखेर काम गरेको परियोजनाका फोकल पर्सन राजकुमार खड्का बताउछन् । यसका अलवा उनीहरुको दैनिक व्यवहार, सचेतना र बानीको बिकासलाई प्राथमिक्तामा राखेर काम भएको यो समुदायको चौतर्फी विकासका लागि समुदायमा आधारित रही आवश्यकता र उनीहरुको मागअनुसार तालिम, प्रबिधि तथा औजारको व्यवस्था गरिएको छ ।
त्रियुगा नगरपालिकाले सदा समुदायका महिलाहरुलाई प्राथमिक्तामा राख्दै सिलाई कटाईको सिप सिक्न चाहेका वडा नं १, २, ३, ५, ६, ८ र ९ का ३२ जना महिलालाई ४५ दिनको आधारभूत तालिम दिई सिलाई मेसिनसमेत उपलब्ध गराइएको छ । उनीहरुलाई पुनः ३ महिने एडभान्स तालिम समेत पाएपछि सदा समुदायका महिलाहरु व्यवसायिकतातर्फ अग्रसर भएकाछन् । सिप सिक्न चाहना भएर पनि आर्थिक अभाव र प्रतिकुल पारिवारीक वातावरणका कारण पछाडी परेका महिलाहरु यतीबेला खुसी देखिन्छन् । सटर भाडामा लिएर त्रियुगा नगरपालिका–६ जलजलेमा सामुहिक सिलाई कटाई सेन्टर खोलेर बसेकी सुनिता सदा यो पेशामा लाग्न पाएकोमा दङ्ग छिन् । “हामीलाई अरु समुदायका महिलाहरुले कुसीमा बसेर काम गरेको देख्दा त्यसरीनै काम गरेर पैसा कमाउन पाए हुन्थीयो जस्तो लाग्थियो तर हाम्रो परिवारमा त्यो वातावरण थिएन तर अहिले सिप पायौं र मेसिन पनि पायौं हाम्रो सपना साकार भए जस्तो लगेको छ” सुनिता भन्छिन् “यो मेरो सपना साकार भएको मात्र होईन हाम्रो समुदायमै आएको परिवर्तन हो ।”
समुदायलाई आत्मनिर्भर बनाउन सिलाइकटाई बाहेक उनीहरुकै माग बमोजिम दालमोठ भुजिया बनाउने, गृल उद्योग, माछा, बाख्रा र वंगुरपालन, मोटर ड्राइभिङ, इलेक्ट्रिकल, पलम्बिङ्ग, मोटरसाईकल मर्मत, टायल मार्वल फिटिङ्ग, कम्प्युटर, फर्निचर र पेन्टिङ्ग लगायतका तालिम दिईएको छ । ११ जनाले ३ दिने दालमोठ भुजिया बनाउने तालिम लिएकाछन् । भने ११ जनाले मुढा बनाउने, ७ जनाले लाहाको चुरा बनाउने, ७ जनाले सेरामिक्स, ३ जनाले गुन्द्रि पटिया बनाउने तालिम लिएकाछन् । ३ जनाले ५ दिने फर्निचर पेन्टिङ्ग, ५ जनाले ३ दिने माछा पालन, १० जनाले ३ दिने तरकारी खेती, २ जनाले १० दिने टायल मार्मल तालिम, ३ जनाले १ महिने गृल उद्योग, २ जनाले होटल व्यवसाय तालिम लिएकाछन् । उनीहरुकै माग अनुसार एक÷एक जनालाई मोटरसाईकल मर्मत, च्याउ खेती, ढाका बनाउने र धुलो मसला बनाउने तालिमको व्यववस्था गरिएको छ ।
परियोजना मार्फत २०० जनाले सिप आर्जन गरेकाछन् भने २२० जनाले उद्यमशिलताको तालिम लिएकाछन् । ठेलामा तरकारी राखेर व्यापार गर्न चाहने ९ जनालाई ठेला, तराजु र १० हजार रुपैया बिउपुजीको व्यवस्था गरिएको छ । मोटरसाईकल मर्मतको सिप सिक्न चाहेका त्रियुगा नगरपालिका–९ वडा कुमार सदा लाई स्थानीय मोटरसाइकल ग्यारेजमा १ महिने तालिमको व्यवस्था गरेर आवश्यक पर्ने मर्मत औजारहरु हस्तान्तरण गरिएको छ ।
सिप तथा तलिम लिएका सवैलाई आवश्यक्ता अनुसारको औजार, सामाग्री, विउ पुजीलगायतको व्यवस्था गरिएको छ । परियोजनाले उद्यम व्यवसाय गर्न १२७ जनालाई २० प्रकारका औजार तथा प्रविधी हस्तान्तरण गरेको छ । घर तथा पुल ढलानमा कामगर्ने मजदुरहरुलाई सिमेन्ट मुछ्ने मिक्चर मेसिन उपलब्ध गराईएको छ । मिक्चर मेसिनको सञ्चालन, मर्मत र आमदानी वाडफाडका लागि उनीहरुको समुह गठन गरेर कामको जिम्मेवारी वाडफाड गरिएको छ ।
आर्थिक पाटो वाहेक सदासमुदायको दैनिकी, सरसफाई र शिक्षामा सुधार गर्ने कामहरु समेत भएकाछन् । समुदायमा पुर्ण सरसफाइ सचेतना कार्यक्रम संचालन गरिएको छ भने फोहोर व्यवस्थापनका लागि समुदायमा रिङ्ग डस्विनको व्यवस्था र स्वच्छ खानेपानीका लागि ६७० घरधुरीलाई वायोस्याण्ड फिल्टर वितरण गरिएको छ । यसका अलावा सामाजिक परिचालन, पारिवारिक लगत विवरण, उद्यमी समुह गठन, वित्तिय साक्षरता सचेतीकरण, एक घर एक बैकिंग खाता अभियान, सामाजिक सचेतीकरण सम्बन्धी मोवाइल सन्देश प्रवाह कार्यक्रमहरु सञ्चालन गरिएकाछन । परियोजना सञ्चालनमा आएपछि सदा बस्तीहरुमा सरसफाईमा ध्यान दिन थालिएको छ । खासगरी खानेपानी फिल्टर गरेर खाने वानीको बिकास भएको जसका कारण पानीवाट हुने विरामीमा पनि कमी आएको छ ।
सदा समुदायमा वाल विकास केन्द्र सुधार तथा समाग्रीको व्यवस्था, किशोरी समुह गठन र परिचालन गरिएको छ । सदा समुदायमा गठन भएका कोशोरी समुहहरुको हिजोआज सकृयता निकै बढेको छ । नियमित बैठक बसेर स्वास्थ्य, सरसफाईका बिषयमा छलफल गर्ने वालविवाहलाई निषेध गर्ने, समुदाय भित्र बिद्यालय नजाने वालवालिकाको खोजी गर्ने काम उनीहरुले गरिरहेका छन् । बेलाबेला गाउमा सामुहिक रुपमा सरसफाई कार्यक्रम चलाउन थालिएको छ । किशोरी समुह गठन भएपछि प्रत्यक महिना समुहको बैठक बस्ने र बचत समेत गर्न थालेको त्रियुगा नगरपालिका–९ गैरुन किशोरी समुहकी अध्यक्ष शारदा सदा बताउछिन ।
सदा समुदायका बालवालीकालाई बिद्यालय जान र टिकाईराख्न प्रेरित गर्ने उद्धेश्यले नजिकैका ९ वटा वालविकास केन्द्रहरुमा स्मार्ट टिभीको व्यवस्था मिलाइएको छ । भने ५ वटा वालविकास केन्द्रहरुको भौतिक व्यवस्थापनका लागि सामाग्री उपलब्ध गराईएको छ । जसका कारण सदा समुदायका वालवालिकालाई बिद्यालयमा टिकाईराख मद्त मिलेको छ ।
सञ्चालित परियोजनामा एसएलसी उत्तिर्ण ३ जना सदा समुदायकै युवायुवती कर्मचारीका रुपमा कार्य गरेकाछन् । घरधुरी सर्वेक्षणमा परिचालन भएका ८ जना र वालवालिकालाई कोचिंग कक्षा सहजकर्ताको रुपमा १३ जना युवायुवती सदा समुदायवाटै छनौट गरेर काम गरिएको छ । परियोजनामा कार्य गरेका उनीहरुमा सरकारी जागिर तर्फ आकर्षण बढेको पाईएको छ ।
यो परियोजना सञ्चालन भएपछि सदा समुदायमा निकै परिवर्तन देखिन थालेको छ । साहुको घरमा दैनिक ज्याला मजदुरी गरेर खानेहरु हिजोआज उद्यम व्यवसायमा चासो देखाउन थालेकाछन । सिप सिकेर आत्म निर्भर बन्नु पर्छ भन्ने कुराको ज्ञान र जागरुक्ता बढेको छ । तालिम तथा प्रविधी पाएका युवाहरुले सिप अनुसारको काम र व्यवसाय सुरु गरेकाछन् । केही महिलाहरुले दालमोट भुजियाको उत्पादन गरी आमदामी गर्न थालेकाछन् । सदा समुदायमा टोल विकास, सहकारी र उद्यम समुहमा चासो र सहभागिता बढन् थालेको छ । आज कमाएको ज्याला आजै सक्ने सदा समुदायको बानीमा सुधार देखिएकाछन् । नगद तथा अन्नको बचत गर्ने बानीको बिकास बिस्तारै बढ्न थालेको छ । व्यक्तीगत, घरायसी र बस्ती सरसफाईमा समेत उनीहरुको बानीमा परिवर्तन देखिन थालेको छ । भने वालवालिकाहरु नियमित बिद्यालय जाने र पढ्ने बानीमा निकै सुधार भएको छ ।
सिप भएको मान्छे भोकै बस्नु पर्ने अवस्था नआउने भएकाले शिप तथा तालिमलाई प्रथमिक्ताका साथ व्यवस्था गरिएको हो । यसअघि सदा समुदायमा गरेको लगानी बालुमा पानी हाले सरह हुनेगरे पनि अहिले सदा समुदायमा देखिएको लगनशिलता र परियोजनाले गरेको मेहनतले सोचे भन्दा राम्रो परिणाम निस्किएको छ ।
कोशी प्रदेश सरकारसंगको साझेदारीमा १३ महिनासम्म चलेको यो परियोजनाको समयावधी सकिएको छ । तर त्रियुगा नगरपालिकाले यो परियोजनालाई सानो आकारमा सञ्चालन गरिरहेको छ । हाल यो परियोजनाले बस्तीहरुमा नियमित अनुगमन गर्ने, आवश्यक्ता अनुसार सहयोग गर्ने र उनीहरुको प्रयासमा हातेमालो गर्ने निती लिएकाको छ । त्रियुगा नगरपालिमा यसपटक सदा समुदायमा राज्यले गरेको यतीठुलो लगानी खेरजान नदिन नगरपालिकाले नियमित निगरानी गरिरहेको त्रियुगा नगपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले बताए । पटक–पटक भएका लगानी खेर गएकाले यसपटक गरिएको लगानी उपलब्धीमुलक र दिगो बनाउन उपलब्ध गराईएको सामग्रीको प्रयोगको अवस्थाका बिषयमा नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको र उद्यमी बन्न चाहनेहरुलाई त्रियुगा नगरपालिकाले थप सहयोग समेत गर्ने नगर प्रमुख बस्नेत बताउछन् । लामो समयदेखी यहा वासोवास गरेको सदा समुदायको जिवनस्तर उकास्न शिक्षा, स्वास्थ्यमा पहुँच बृद्धि गर्दै गरिवी निवारणका लागि निरन्तर सहयोग गर्दै जाने निती त्रियुगा नगरपालिकाले लिएको छ ।
सदा समुदायमा गरिएको लगानी र उनीहरुको लगनशिलताले परिवर्तन देखिन थालेपनि नियमित अनुगमन, परामर्ष र सहयोग नहुने हो भने प्रदान गरिएका सामाग्रीहरुको प्रयोगविहिन बन्ने र पुर्ववतः अवस्थाका व्यवहारहरुमा फर्कन सक्ने खतरा भने अझै छ ।