काठमाडौं : आज मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। देशमा जारी लकडाउन अर्को एकसाता देखी १० दिन सम्म लम्ब्याउने तयारीका साथ मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी लकडाउन लम्ब्याउनेबारे छलफल र निर्णय गर्न मंगलबार बिहान मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
मंगलबार ११ बजे बस्ने मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ। सरकारले गरेको लकडाउन जारी रहेको अवस्थामा देशका कोरोनाका संक्रमित भेटिने क्रम बढेसँगै सरकारले थप कडाइका साथ लकडाउनलाई कम्तीमा एक साता लम्ब्याउने रणनीति लिएको हो।
प्रधानमन्त्रीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडिओ कन्फरेन्स गरेका थिए। त्यस क्रममा सातै प्रदेशका मुख्यमन्त्रीले लकडाउन अझै कडा पारी समय बढाउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले भारतीय सीमानामा कडाइ गर्नुपर्ने मागसमेत राखेका थिए।
छिमेकी भारतमा पनि तीव्र गतिमा कोरोना फैलिँदै गएको छ। त्यहाँ हालसम्म ९ हजार ६ सय ३५ जनालाई कोरोना संक्रमण देखिएको छ। मर्नेको संख्या ३३१ पुगिसकेको छ। भारतमा कोरोना फैलिँदै गएपछि खुला सीमाको फाइदा लिएर मानिसहरु नेपाल छिर्ने क्रम रोकिएको छैन। यस्तो अवस्थामा सरकारले लकडाउनलाई अझै कडा पार्ने रणनीति लिएको हो।