उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाले डेंगुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै ‘खोज र नष्ट गर’ अभियान थालनी गरेको छ। पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले १६ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई जानकारी गराउदै डेंगुको व्यवस्थापन र नियन्त्रण अभियान सञ्चालनका लागि निर्देशन दिइएको नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।
डेंगुसंक्रमण रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि सरोकारवालासँग समन्वय गरी जनस्तरसम्म सचेतनाका क्रियाकलाप गरी लामखुट्टेको बासस्थान र फूल पार्ने ठाउँ खोजी गरी लार्भा नष्ट गर्न खोज र नष्ट गर अभियान सञ्चालन गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।
आ–आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने र टिनका डब्बा, टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिने, बिद्यालय तथा सरकारी कार्यालयहरुमा शुक्रबार कार्यालय परिसर पूर्ण सरसफाई गर्ने, टोल बिकासहरुलाई आफ्नो टोल आफै सफा राखौं डेंगुसंक्रमणलाई कम गरौँ भनेर अभियानमा सवैमा सचेतना समेत फैलाउने योजनाले अभियान शुरु गरिएको स्वास्थ्य शाखाका अधिकृत उपेन्द्र कार्कीले जानकारी दिनु भयो ।
बिहान र साँझपख डेंगुसंक्रमण सार्ने खाले लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घरबाहिर खेतबारी, हाँस, सुङ्गुर, बङ्गुर फार्ममा ननिस्कन आग्रह गर्दै अभियानमा सहभागीहरुले गाईघाट बजारमा रहेको मोटर ग्यारेज, मोटरसाइकल ग्यारेज लगायतका मच्छर बढी पाइने खाल्डा खुलडीहरुमा गएर सर सफाई गर्नुका साथै मच्छर मार्ने काम गरेको थिए ।
अभियानमा नगर उप प्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी , जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सरोकार वाला संघ संस्था बिद्यार्थी सर्व साधारण सहभागी भएका थिए ।