उदयपुर । त्रियुगा नगरस्तरिय अन्तर बिद्यालय टि २० क्रिकेट प्रतियोगिताको उपाधी त्रियुगा नमुना माबीले जितेको छ । जिल्ला क्रिकेटसँंगको आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोगमा भएको खेलमा उदयसी बोर्डिङ स्कुल जलजलेलाई ५ विकेटले हराउदै त्रियुगा मावीले उपाधी जितेको हो ।
बिजेता तथा उपबिजेतालाई त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भएको छ । पुरस्कार र प्रमाणपत्र बितरण गर्दै नगरप्रमुख बस्नेतले खेलले पनि देशको बिकास गर्न सकिने र आर्थिक पार्जन गर्न सकिने बताउनु भयो । अहिले बिदेशमा जस्तै नेपालमा पनि फ्रेन्चाइज गेम लिगहरु हुन थालेकोले बिदेशी खेलाडी समेत नेपाल आएर खेल खेल्न थालेको उधाहरण दिदै नेपालीहरु पनि राम्रो खेले खेल मार्फत तत्काल आम्दानी गर्न सकिने बताउनु भयो ।
नेपालमा लोकप्रिय र अत्यन्तै रुचाइएको गेम क्रिकेटको बिकासका लागि नगरपालिकाले क्रिकेटमैदानका लागि जग्गाको व्यवस्था गरिसकेको हुँदा नगरपालिकाको लगानीले मात्र बनाउन नसकिएको भन्दै प्रदेश र संघीय सरकारसँग बजेट माग गरेर व्यवस्थापन गर्दै लैजाने प्रमुख बस्नेतले बताउनु भयो ।
प्रथम हुने टोलीलाई नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र र दोस्रो हुनेलाई ७ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको क्रिकेटसँगका जिल्ला अध्यक्ष एल्वीन बस्नेतले बताउनु भयो ।