उदयपुर । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनको आफ्नै आत्मकथा रहेको पुस्तक त्रियुगा नगरपालिकाले खरिद गरेको छ । वीरगन्जको कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आफ्नै आत्मकथा रहेको पुस्तक बेच्नका लागि पुन देशदौडाहामा रहेका डा. पुन द्वारा लिखित पुस्तक नगरपालिकाले करिव १ लाख बराबरको खरिद गरेको हो ।
नगरपालिकाले पुस्तक खरिद गर्नु अघि नगरपालिकाका मेयर बसन्त बस्नेतले आफ्ना लागि वैज्ञानिक पुनको पुस्तक खरिद गरेका थिए । पुनले सडकमा पुस्तक बेच्दै गर्दा आफ्ना लागि सडकमानै पुगेर पुस्तक खरिद गरेको र पुनको अभियानलाई साथ दिन उनलाई नगरपालिका बोलाएर स्वागत र सम्मान गर्दै पुस्तक खरिद गरेको मेयर बस्नेतले बताउनु भयो ।
मेयर बस्नेतले अनुसन्धानबाट समाज, राष्ट्रको विकास हुने भएकाले बैज्ञानिक महावीर पुनले सुरुवात गरेको आविष्कार तथा अनुसन्धान केन्द्रमा पनि नगरपालिका जोडिने आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । पुनको आत्मकथामा युवाहरुलाई हौसला र उत्प्रेरणा जगाउने खालको विषयवस्तु भएको भन्दै यस अभियानमा साथ दिन नगरपालिकाले पुस्तक खरिद गरि सामुदायिक विद्यालय र सामुदायिक सिकाई केन्द्रहरुमा वितरण गर्ने मेयर बस्नेतले जानकारी दिनु भयो ।
कृषि औजार कारखाना मर्मत गर्न र सञ्चालन गर्न पुनले आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्किएका पुन बिगत ३ दिन देखि उदयपुरको गाईघाटमा छन । गाईघाटको गाईचोकमा बसेर पहिलो दिन पुनले ३ घन्टामा ३ सय २४ पुस्तक बिक्री गरेको बताए । उनले गाईघाटको बैंकलाईन, पिपल चोक, बोक्से चोक, जलजले, चुवाडे लगायत नेपालटार र कटारीमा पुस्तक बिक्री गर्ने उनको कार्यतालिका रहेको पुनले बताउनु भयो ।
कारखाना सञ्चालनका लागि २५ करोड पुँजी चाहिने भएकाले १ प्रतिशत नेपालीले पुस्तक किनिदिए आफ्नो लक्ष्य पूरा भएर कृषि कारखाना सञ्चालनमा आए सय जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र कृषकलाई फाइदा पुग्ने डा. पुनले जानकारी दिनु भयो । ३०८ पेज लामो उक्त पुस्तकको मूल्य ७५० रुपियाँ राखिएको छ ।