उदयपुर – उदयपुरको भुल्केमा १२ स्थानीयसहित २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमणको जरा खोतल्न विश्व स्वास्थ्य संगठनसहितको टोली अनुसन्धानको लागि भुल्के आइपुगेको छ।
बिहीबार आइपुगेको टोलीले एक हप्ताभित्र रिपोर्ट पेस गर्ने हिसाबले काम सुरु गरेको जन स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख डा. मोहन सुवेदीले जानकारी दिए। सुबेदीका अनुसार टोलीमा एक जना विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित चार जना जनस्वास्थ्य विज्ञ छन्।
अहिले उक्त टोली संक्रमण फैलिएको भुल्केमै पुगेर अनुसन्धान गरिरहेको छ। गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेको १६ जनामध्ये १२ जनामा कोरोना पुष्टि भएको थियो।
पछि मस्जिदमा रहेका १६ जनालाई कोरोना पुष्टि भए लगत्तै वस्तीमा रहेका मानिसहरूको पनि परीक्षण गर्ने क्रममा १२ जनामा कोरोना पुष्टि भए पछि उदयपुरमा मात्र २८ कोरोना संक्रमित पुगे । उनीहरूको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ।
त्यसलगत्तै विश्व स्वास्थ्य संगठन सहितको टोली संक्रमण कसरी फैलियो भन्नेबारे अनुसन्धान गर्न सो वस्ती पुगेको हो। अहिले प्रारम्भिक अनुसन्धानले जमाती समूहबाट भन्दा पनि भारतबाट आएका स्थानीय युवकबाट संक्रमण फैलिएको भन्ने आशंका गरिएको छ।
स्वास्थ्य कार्यालय प्रमुख डा. सुवेदीले जमाती समूहका व्यक्तिहरू चार महिनाअघि नै नेपाल आएको कुराले सो समूहबाट संक्रमण फैलिएको हुन नसक्ने बताए। उनका अनुसार फागुन तेस्रो साता भारतबाट आएका भुल्केकै एकजना स्थानीय युवकबाट संक्रमण फैलिएको हो कि भन्ने अनुमान छ।
यस्तै दुबईबाट आएका एक स्थानीय युवकलाई पनि संक्रमण देखिएपछि उनीबाट पनि संक्रमण फैलिएको हुनसक्ने भनेर थप अनुसन्धान बढाइएको छ।
गत शुक्रबारदेखि नै भुल्के वस्ती सिल छ। वस्तीमा खाद्यवस्तुदेखि सबै कुरा नगरपालिकाले व्यवस्था गर्दै आएको छ। वस्तीमा स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको छ। वस्तीमा रहेका दिर्घ रोगी, औषधि सेवन गरिरहेका विरामीहरुको स्वास्थ्य जाँच गरिएको डा. सुवेदीले बताए।