काठमाडौं : लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि लागू हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
नेपालगञ्जमा १६ जना कोरोना संक्रमित देखिएपछि बाँके प्रशासनले उपमहानगरपालिका क्षेत्र मंगलवार बिहान ११ बजे देखि पुर्णरुपमा निषेधित क्षेत्र घोषणा गरेको हो ।
लकडाउनको पालनामा बढ्दो लापरबाहीलाई लिएर बाँके प्रशासनले २५ गते मध्यरातसम्म लागुहुने गरी नयाँ निर्णय लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो निर्णय अनुसार अव नेपालगञ्जमा औषधि पसल वाहेक अन्य सबै ब्यबसाय ठ्प्प रहनेछन् । धेरैमा संक्रमण पुष्टि भएपछि नेपालगञ्जको बडा नम्बर आठमा यसअघि नै आवतजावत रोकिएको छ ।
नेपालगञ्जमा समुदाय तहमा संक्रमण भइसकेकाले तीव्र सतर्कता र कडाइ जरुरी रहेको चिकित्सकले बताएका छन् । नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । त्यसको दुई दिनपछि उनीसंग सम्पर्कमा रहेका १५ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको हो ।