उदयपुर : उदयपुरगढी गाउँपालिकाका विभिन्न वडामा फैलिएको अमेरिकन फौजी किराले मकैका बिरुवा नष्ट गर्न थालेपछि नियन्त्रण गर्न विषादी वितरण गरिएको छ।
पालिकाको दनुवारवेसी, नेपालटार, कुसुमबोट, बोहोरीबोट, खत्रीटारलगायत विभिन्न स्थानमा फौजी किराले मकैका बिरुवा नष्ट गर्न थालेपछि बिषादी वितरण गरिएको हो।
मुलुक पुरै कोरोनाले आक्रान्त भएका बेला किसानले लगाएको अन्नवालीमा समेत किराले नष्ट गर्न थालेपछि बाल विकास समाज नेपाल र सेभ द चिल्ड्रेनले सरोकारवाला निकायसँग समन्वय गरी फौजी किरा नियन्त्रणका लागि जान्डर नामक विषादी वितरण गरेको हो।
वडा नं. ६ र ८ का वडाध्यक्ष कृष्ण बहादुर खत्री र टंकबहादुर श्रेष्ठलाई ७६ पाकेट विषादी हस्तान्तरण गरिएको छ। १५० कठ्ठा जमिनमा लगाइएको मकैबालीमा छिट्न पुग्ने गरि किसानलाई बिषादी वितरण गरिएको बाल विकास उदयपुरका चेतराज श्रेष्ठले बताए।
२० हेक्टर जमिनमा लगाइएको मकै बालीमा फौजी किरा फैलिएको छ। मकैबालीको अनुगमन पश्चात्त औषधी वितरण गरेको उदयपुरगढी ६ का वडाध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताए।
फौजी किरा नियन्त्रण र विषादी व्यवस्थापन गर्नको लागि वडा कार्यालय, जिल्ला कृषि ज्ञान केन्द्र र उदयपुरगढी गाउँपालिकको कृषि शाखाले पनि पहल गरिरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।
विषादी व्यवस्थापन गर्न र छिट्नको लागि दुई जना परिचालन गरिएको छ। समयमै यो समस्याको समाधान नगरे मकैबाली सबै नास हुने अवस्था देखिएको किसानहरूले बताएका छन्।
यस्तै बेलका नगरपालिकाको वडानं १,२ र ३, चौदण्डीगढी नपाको ९ र १०, त्रियुगा नपाको ५,७,१३,१५ र १६, कटारी नपाको ४,५,६,१० र रौतामाईको २,४,५ र ७ मा संक्रमट देखापरेको छ । फौजीकीराले मकैको गुबोभित्र पसेर कलिला पात खाने गरेको छ ।
मेहनत गरेर लगाएको खेती धमाधम नष्ट हुँदै जानथालेपछि किसानलाई लकडाउनभन्दा पनि खेतीको चिन्ताले सताएको छ ।